२०८३ जेठ २१ बिहीवार | Thursday, Jun 04 2026

यूएनडीपीको सहयोगमा अध्यक्ष तिमिल्सिनासहित सातै प्रदेशका सभामुख–उपसभामुख अस्ट्रेलिया जाँदै

Untitled
Untitled
Untitled

काठमाडौं, राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाको नेतृत्वमा सात प्रदेशका सभामुख र उपसभामुख आज राति अस्ट्रेलिया जाने भएका छन्।

वित्तीय तथा प्रशासनिक विनियोजनसम्बन्धी संसदीय अभ्यासको अध्ययन भ्रमण कार्यक्रमअन्तर्गत अध्यक्ष तिमिल्सिना नेतृत्वको १२ सदस्यीय प्रतिनिधिमण्डल अस्ट्रेलिया जान लागेको हो।

संयुक्त राष्ट्र संघीय विकास कार्यक्रम (यूएनडीपी) को संसद सहयोग परियोजनाअन्तर्गत अध्ययन भ्रमण हुन लागेको संघीय संसदका प्रवक्ता एकराम गिरीले जानकारी दिए।

यूएनडीपी नेपाल र संघीय संसद सचिवालयबीच समझदारी भई संघीय संसद र प्रदेशसभाहरूमा संसद सहयोग परियोजना सञ्चालित छ।

प्रतिनिधिमण्डलले अस्ट्रेलियाको संसद र न्यु साउथ वेल्स तथा भिक्टोरिया प्रान्तका प्रान्तीय संसदहरूमा विभिन्न भेटघाट तथा अन्तर्क्रियात्मक कार्यक्रम गर्नेछ।

प्रतिनिधिमण्डलमा सुदूरपचिम प्रदेश सभाका सभामुख भीमबहादुर भण्डारी, कर्णालीका नन्दा गुरुङ, गण्डकीका कृष्णप्रसाद धिताल, कोशीका उपसभामुख सृजना दनुवार, मधेशका उपसभामुख बबिताकुमारी राउत ईश्वर, बागमतीका उपसभामुख अप्सरा चापागाईं खत्री र लुम्बिनीका उपसभामुख मेनुका खाँड केसी छन्।

यस्तै, मुस्लिम आयोगका अध्यक्ष समिम मिया अन्सारी, राष्ट्रिय समावेशी आयोगका सदस्य पुष्पराज तिमिल्सिना, संघीय संसद सचिवालयका प्रमुख पुस्तकालय अधिकृत कमलादेवी शर्मा र राष्ट्रिय सभा अध्यक्षका स्वकीय सचिव ऋचा पोखरेल पनि भ्रमण टोलीमा छन्।

भ्रमण सम्पन्न गरी अध्यक्ष तिमिल्सिना मंसिर १८ गते र टोलीका अन्य सदस्य मंसिर १६ मा नेपाल आइपुग्ने कार्यक्रम छ।

Untitled
Untitled
Untitled