काठमाडौं, नेकपा एमाले बागमती प्रदेश कमिटीको नयाँ नेतृत्व चयनका लागि आज मतदान हुँदैछ ।
मतदान दिउँसो १ बजेबाट सुरु गर्ने तयारी भइरहेको अध्यक्ष मण्डलका सदस्य एवं पार्टी स्थायी कमिटी सदस्य शेरबहादुर तामाङले जानकारी दिए ।
गएराति उम्मेदवारी दर्ता, दाबी विरोधलगायत काम भएकाले मतदान आज दिउँसो मात्र सुरु गर्ने तयारी भइरहेको उनको भनाइ छ ।
पाँच पदाधिकारीसहित २ सय ४० सदस्यीय कमिटीका लागि ५ सयभन्दा बढीको उम्मेदवारी दर्ता भएको तामाङले जानकारी दिए । उम्मेदवारलाई आज बिहान उम्मेदवारी फिर्ताको समय दिइएको छ ।
उम्मेदवारी फिर्ताको समयपछि विद्युतीय भोटिङ मेशिनमार्फत् मतदान गर्ने तयारी भएकाले उम्मेदवारको नाम मेसिनमा ‘इन्ट्री’ गर्न केही समय लाग्नेछ ।
अध्यक्षमा कृष्णप्रसाद दाहाल, केशरबहादुर बुढाथोकी, कैलाशप्रसाद ढुंगेल, सानुकुमार श्रेष्ठ र केशवराज पाण्डे गरी पाँचजनाले उम्मेदवारी दर्ता गराएका छन् ।
उपाध्यक्षमा सुभाषचन्द्र ठकुरी, नारायण प्रसाद खतिवडा, दावा दोर्जे लामा, ईश्वरचन्द्र पोखरेल र राजेन्द्र राजथलाको उम्मेदवारी परेको छ।
सचिवमा रत्न गुरुङ, नवराज सिलवाल, हस्तबहादुर पण्डित र डा. रामकुमार अधिकारीले उम्मेदवारी दिएका छन् ।
यस्तै, दुई उपसचिवका लागि १२ जनाको उम्मेदवारी परेको छ ।


































