२०८३ असार ६ शनिवार | Saturday, Jun 20 2026

भ्रष्टाचारविरुद्ध नयाँ लडाइँ सुरु भयो : प्रधानमन्त्री दाहाल

Untitled
Untitled
Untitled

काठमाडौं, प्रधानमन्त्री पुष्पकमल दाहालले भ्रष्टाचारविरुद्ध नयाँ लडाइँ सुरु भएको बताएका छन् ।

काभ्रेपलाञ्चोकको महाभारत गाउँपालिकामा सडक तथा ग्रामीण विद्युतीकरण कार्यक्रमको शिलान्यास गर्दै भ्रष्टाचार नियन्त्रणका लागि आफू र पार्टीलाई जनयुद्धको जस्तै साथ चाहिएको बताएका हुन् ।

प्रधानमन्त्री दाहालले विकास र समृद्धिबिना अन्यायको अन्त्य र समाजवादको नयाँ युग सूत्रपात गर्न नसकिने बताए ।

“यसका लागि हिजोका दिनमा तपाईँहरूले दिएको साथ आज पनि चाहिएको। यसका लागि म तपाईंहरुसँग सहयोगको अपिल गर्न चाहन्छु।”

उनले आफूले सरकारको नेतृत्व सम्हालेदेखि नै तीन वटा शब्दलाई बढी महत्त्व दिएको बताए ।

“अन्यायमा परेकालाई न्याय, समानता र अधिकार चाहिन्छ। सामाजिक न्याय भनेको त्यही हो”, प्रधानमन्त्रीले भने , “देशमा विसङ्गति, विकृति र भ्रष्टाचारले विकराल रूप लिएको छ।

जबसम्म भ्रष्टाचारलाई अन्त्य गरिँदैन नेपाली जनताले सुख र समृद्धिको दिन देख्न पाउने छैनन्।”

उनले जनता सबैको साथ र सहयोगसहितको प्रतिबद्धता भए अबका पाँच वर्षमा एउटा रेकर्ड बनाउने सकिने विश्वास व्यक्त गरे ।

प्रधानमन्त्री दाहालले लोडसेडिङको युगबाट विद्युत बिक्री गर्ने युगमा आएको उल्लेख गर्दै आसन्न भारत भ्रमणमा विद्युत् बिक्री र उत्पादनका विषयमा सम्झौता हुने बताए ।

“जुन/जुन प्रदेशलाई हिजोका दिनमा पछाडि पारिएको थियो, म तिनै प्रदेशमा विकास निर्माण गति दिन बढी जोड गरेको छु।

म प्रधानमन्त्री भएपछि सुदूरपश्चिम प्रदेश र कर्णाली प्रदेशलाई हिजो सामन्ती राज्यले बढी विभेदमा पार्‍यो तिनै प्रदेशमा मैले बढी ध्यान दिएको छु”, उनले भने ।

प्रधानमन्त्री दाहालले काठमाडौं नजिकै भए पनि हिजोका दिनमा राज्यसत्ताले पछाडि पारेका क्षेत्रलाई विकासमा अगाडि ल्याउने प्रतिबद्धता व्यक्त गरे ।

“हिजो राज्यले काठमाडौं नजिकै भएर पनि यहाँका नागरिकलाई विकासबाट वञ्चित गरायो”, उनले भने , “अबका पाँच वर्षमा हुने विकास निर्माणले पर्यटक ओहिरिने छन्।”

तात्कालीन राज्यसत्ताले गरेको अपमानजनक व्यवहार, असुविधा र विभेद र अन्यायविरुद्ध काभ्रेका जनता क्रान्तिमा होमिएको उल्लेख गर्दै प्रधानमन्त्री दाहालले महाभारत र खानीखोला जस्ता विकट गाउँले गणतन्त्रको घोषणापछि सबैभन्दा छिटो विकास र सुविधा पाउने बताए ।

रासस

Untitled
Untitled
Untitled