२०८३ असार ५ शुक्रवार | Friday, Jun 19 2026

देशभर मौसमी प्रणाली सक्रिय, हिमाली–पहाडी क्षेत्रमा बदली र वर्षाको सम्भावना

Untitled
Untitled
Untitled

काठमाण्डौ । देशभर अहिले उपल्लो वायुमण्डलमा विकसित पश्चिमी न्यूनचापीय रेखा, स्थानीय वायु प्रणाली तथा पूर्वीय वायुको आंशिक प्रभाव कायम रहेको जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

यी मौसमी प्रणालीहरूको संयुक्त प्रभावले आज देशका विभिन्न भू–भागमा मौसममा उल्लेखनीय परिवर्तन देखिएको छ।

महाशाखाका अनुसार आज दिउँसो कोशी, बागमती, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका हिमाली तथा पहाडी क्षेत्रहरू, लुम्बिनी प्रदेशको हिमाली भू–भाग तथा कोशी प्रदेशका तराई क्षेत्रहरूमा सामान्यदेखि आंशिक बदली रहनेछ।

त्यस्तै लुम्बिनीको पहाडी भू–भाग र मधेस प्रदेशका तराई क्षेत्रमा आंशिक बादल रहने अनुमान गरिएको छ भने अन्य तराई क्षेत्रहरूमा मौसम मुख्यतया सफा रहनेछ।

दिउँसोको मौसम अवस्थाअनुसार कोशी प्रदेशका हिमाली तथा पहाडी भू–भागका केही स्थानहरूमा, बागमती र गण्डकीका हिमाली तथा पहाडी क्षेत्रमा थोरै स्थानमा, तथा लुम्बिनी, कर्णाली र सुदूरपश्चिमका हिमाली–पहाडी भू–भागका एक/दुई स्थानमा मेघगर्जन र चट्याङसहित मध्यम वर्षा हुने सम्भावना रहेको छ।

उच्च पहाडी क्षेत्रमा केही स्थानमा हल्का हिमपातसमेत हुन सक्ने अनुमान महाशाखाले गरेको छ।

त्यसैगरी कोशी प्रदेशको तराई क्षेत्रमा पनि थोरै स्थानमा मेघगर्जन र चट्याङसहित मध्यम वर्षा हुने सम्भावना रहेको छ।

लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराई क्षेत्रमा केही स्थानमा तातो लहर (हट वेभ) को प्रभाव देखिन सक्नेछ भने बागमती र गण्डकी प्रदेशका तराई क्षेत्रमा पनि तातो दिनको अवस्था रहन सक्ने जनाइएको छ।

रातिको मौसम अवस्थाबारे महाशाखाले दिएको जानकारीअनुसार कोशी, बागमती र गण्डकी प्रदेशका हिमाली तथा पहाडी भू–भागमा सामान्य बदली रहनेछ।

अन्य हिमाली तथा पहाडी क्षेत्र र कोशी प्रदेशको तराई क्षेत्रमा आंशिक बदली रहनेछ भने बाँकी तराई भू–भागमा मौसम मुख्यतया सफा रहने अनुमान गरिएको छ।

राति पनि कोशी, बागमती र गण्डकीका हिमाली–पहाडी क्षेत्रमा केही स्थानमा तथा लुम्बिनी र कर्णालीका हिमाली क्षेत्रमा एक/दुई स्थानमा मेघगर्जनसहित मध्यम वर्षा तथा हिमपातको सम्भावना रहेको छ।

साथै कोशी प्रदेशको तराई क्षेत्रमा पनि थोरै स्थानमा मेघगर्जन र चट्याङसहित वर्षा हुन सक्ने महाशाखाले जनाएको छ।

Untitled
Untitled
Untitled