२०८३ जेठ २१ बिहीवार | Thursday, Jun 04 2026

मल अभावले मकै खेती जोखिममा, दिनभर लाइन बस्दा पनि खाली हात फर्किनु परेको गुनासो

Untitled
Untitled
Untitled

विराटनगर, कानेपोखरी–५ भौंसाबारीका ४५ वर्षीय हर्कबहादुर धिमालका लागि सोमबार बिहानको यात्रा आशाभन्दा बढी निराशामा टुंगियो ।

उज्यालो नहुँदै काँधमा खाली बोरा बोकेर निस्किएका उनी रमाइलो बजार पुग्दा मल पाउने अपेक्षामा थिए । तर, दिनभरि लाइनमा बसेर पनि रित्तै फर्किनुपर्‍यो ।

“आज त जसरी पनि मकैका लागि मल पाइन्छ भन्ने लागेको थियो,” उनले भने, “तर चार घण्टा लाइन बस्दा पनि मेरो पालो आउनै लाग्दा मल सकियो भनियो ।”

उनी एक्ला होइनन् । त्यही दिन करिब चार सय किसानले मल नपाएर खाली हात फर्किनुपर्‍यो ।

अहिले मकैमा घोगा लाग्ने समय भएकाले मल अभावले किसानहरू थप चिन्तित छन् ।

“यो बेला मल नहाल्दा मकै राम्रो हुँदैन,” हर्कबहादुरले भने, “घाममा दिनभरि बस्दा पनि केही पाइएन, अब उत्पादन घट्ने पक्का भयो ।”

कानेपोखरी–६ की किसान जितकुमारी राईले पनि उस्तै अनुभव सुनाए । चार घण्टा लाइनमा बसेर पनि मल नपाएपछि उनी गेटमै बसेर विरोध गर्न बाध्य भए ।

“हामीलाई मल चाहिएको बेला पाइँदैन,” उनले भने, “भित्रै मल लुकाएर थोरै मात्रै बाँडिएको जस्तो लाग्छ ।”

स्थानीय किसानहरूको गुनासो छ—मकै खेती बढ्दै गएको छ । तर, मलको आपूर्ति पुरानै हिसाबले सीमित छ ।

“हामीले बाली परिवर्तन गर्‍यौँ । तर, सरकारले मलको व्यवस्था परिवर्तन गरेन,” एक किसानले भने, “माग बढ्दा पनि आपूर्ति उस्तै छ ।”

मकै खेतीमा धेरै पटक मल हाल्नुपर्ने भएकाले अभाव झन् गम्भीर बन्ने गरेको किसानहरूको भनाइ छ ।

“एक पटक होइन, तीन–चार पटक मल चाहिन्छ,” अर्को किसानले भने, “पहिलो पटकमै नपाएपछि त बाली नै कमजोर हुन्छ ।”

सरकारले भने अत्यधिक मल प्रयोगले माटोको गुणस्तर बिग्रने भएकाले मागभन्दा केही कम आपूर्ति गर्ने नीति लिएको बताउँदै आएको छ ।

तर, किसानहरू यसलाई व्यावहारिक नभएको बताउँछन् ।

“हामीलाई कति चाहिन्छ भन्ने खेतले निर्धारण गर्छ, कार्यालयले होइन,” एक किसानले गुनासो गर्दै भने, “नीतिले होइन, उत्पादनले निर्णय गर्नुपर्छ ।”

देशभर मलको माग करिब साढे सात लाख मेट्रिक टन रहेपनि आपूर्ति पाँच लाख मेट्रिक टन हाराहारीमै सीमित छ ।

उता, गोदाममा मौज्दात हुँदाहुँदै पनि प्रशासनिक प्रक्रियाका कारण किसानसम्म समयमै नपुग्ने अवस्था छ ।

सहकारीहरूले आफूहरूसँग आएको मल सीमित भएकाले सबैलाई दिन नसकिएको बताउँछन् ।

तर, किसानहरू भने वितरण प्रणालीमै समस्या रहेको बताउँदै आएका छन् ।

“गोदाममा मल छ भन्ने सुन्छौँ । तर, खेतमा आउँदैन,” एक किसानले भने, “हामीलाई चाहिएको बेला मल नपाउँदा हाम्रो मेहनत नै खेर जाने भयो ।”

यसरी किसानको आवश्यकता र सरकारी व्यवस्थाबीच तालमेल नहुँदा हरेक सिजनमा मल अभाव दोहोरिने गरेको छ, जसको सिधा असर उत्पादन र किसानको जीविकामा परेको छ ।

Untitled
Untitled
Untitled