२०८३ जेठ २१ बिहीवार | Thursday, Jun 04 2026

हर्मुजबाट इरानले कब्जा गर्‍यो दुइटा पानीजहाज, विश्व तेल बजारमा असर

Untitled
Untitled
Untitled

एजेन्सी, इरानले स्ट्रेट अफ हर्मुज हुँदै गइरहेका दुई अन्तर्राष्ट्रिय पानीजहाज नियन्त्रणमा लिएपछि क्षेत्रीय तनाव पुनः चर्किएको छ ।

इरानको इस्लामिक रिभोलुसनरी गार्ड कोर्प्स (आईआरजिसी) ले बुधबार ती जहाज नियन्त्रणमा लिएको अन्तर्राष्ट्रिय समाचार संस्था रोयटर्सले जनाएको हो ।

आईआरजिसीको नौसैनिक युनिटले प्रारम्भमा जहाजहरूलाई चेतावनी दिएको तर नरोकेपछि गनबोटमार्फत गोलाबारी गरेर नियन्त्रणमा लिएको बताइएको छ ।

समुद्री नियम उल्लंघन गरेको आरोपमा ती जहाजलाई इरानी बन्दरगाहतर्फ एस्कर्ट गरिएको जनाइएको छ ।

नियन्त्रणमा लिइएका जहाजमध्ये एउटा लाइबेरियाको झण्डा बोकेको ‘एपामिनोन्डास’ र अर्को पानामाको झण्डा बोकेको ‘एमएससी फ्रान्सेस्का’ रहेको बताइएको छ ।

केही रिपोर्टअनुसार जहाजको संरचना र नियन्त्रण कक्षमा क्षति पुगे पनि चालकदल सुरक्षित रहेको उल्लेख छ ।

यसअघि अमेरिकाले इरानी जहाज कब्जा गरेपछि इरानले हर्मुज जलडमरू खुला घोषणा गरे पनि भोलिपल्टै पुनः कडाइ गर्दै आएको छ ।

बुधबार नै आईआरजिसीले तेस्रो जहाजमा आक्रमण गरे पनि पछि अघि बढ्न दिएको बताइएको छ ।

यस घटनाप्रति अमेरिकाले भने युद्धविराम उल्लंघन नभएको प्रतिक्रिया दिएको छ ।

ह्वाइट हाउसकी प्रेस सेक्रेटरी क्यारोलिन लेभिटले ती जहाज अमेरिका वा इजरायलका नभएकाले युद्धविराममा असर नपर्ने बताएकी हुन् ।

उनले इरानको गतिविधिलाई समुद्री डाँकाजस्तो व्यवहार भन्दै आलोचना गरेकी छन् ।

हाल हर्मुज क्षेत्रमा अमेरिका पनि सक्रिय रूपमा नाकाबन्दीमा संलग्न छ। उसले इरानतर्फ जाने–आउने जहाजहरू रोक्दै आएको छ ।

अमेरिकाको यही नीतिका कारण इरान वार्तामा बस्न अस्वीकार गर्दै आएको छ, जसका कारण इस्लामावादमा तय भएको दोस्रो चरणको वार्ता स्थगित भएको छ ।

इरानी संसदका सभामुख मोहम्मद बागेर गालिबाफले अमेरिकी नाकाबन्दी कायम रहँदासम्म पूर्ण युद्धविरामको अर्थ नहुने बताएका छन् ।

यसबीच इरानले तेहरानमा शक्ति प्रदर्शन गर्दै ब्यालिस्टिक हतियार सार्वजनिक गरेको छ । स्ट्रेट अफ हर्मुज विश्व ऊर्जा आपूर्तिको करिब २० प्रतिशत ढुवानी हुने महत्वपूर्ण मार्ग हो ।

पछिल्लो अवरोधका कारण अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्य दुई सातापछि पहिलोपटक प्रतिव्यारेल १०० डलर नाघेको छ ।

अमेरिकी सेनाका अनुसार नाकाबन्दीका कारण हालसम्म कम्तीमा २९ जहाज फर्काइएको छ ।

सामान्य अवस्थामा दैनिक करिब १३० जहाज आवतजावत गर्ने यस मार्गमा अहिले संख्या उल्लेखनीय रूपमा घटेको छ ।

युद्ध अन्त्यका लागि अमेरिका इरानले उच्चस्तरीय युरेनियम कार्यक्रम परित्याग गर्नुपर्ने अडानमा छ भने इरानले प्रतिबन्ध हटाउने, क्षतिपूर्ति र हर्मुजमा आफ्नो नियन्त्रणको मान्यता माग्दै आएको छ ।

यी विषयमा सहमति नजुट्दा स्थिति अझै अनिश्चित बनेको छ ।

Untitled
Untitled
Untitled