२०८३ जेठ २१ बिहीवार | Thursday, Jun 04 2026

नयाँ बसपार्कबाटै सवारी सञ्चालन गर्न तीन दिनको अन्तिम ‘अल्टिमेटम’

Untitled
Untitled
Untitled

काठमाण्डू, काठमाडौं महानगरपालिकाले नयाँ बसपार्कबाट एकीकृत रूपमा यात्रुवाहक सवारी सञ्चालन गर्न अन्तिम तीन दिनको समय दिएको छ ।

गत महिना सार्वजनिक सूचना जारी गर्दै लामो तथा छोटो दूरीका बस सेवा बसपार्कभित्रैबाट सञ्चालन गर्न आग्रह गरिएको थियो ।

तर, उक्त निर्देशन पालना नगर्ने कम्पनीहरूलाई अब तीन दिनभित्र एकीकृत प्रणालीमा आउन अन्तिम मौका दिइएको कार्यवाहक मेयर सुनिता डङ्गोलले जानकारी दिइन् ।

सहरी यातायात व्यवस्थापन, आवागमन सहजता तथा सुरक्षालाई लक्षित गर्दै महानगरले नेपाल प्रहरीसँग समन्वय गरेर संयुक्त अनुगमन टोली गठन गर्ने तयारी पनि गरेको छ ।

महानगर प्रहरी बलका प्रमुख विष्णुप्रसाद जोशीलाई समन्वय गरेर प्रभावकारी नियमन गर्न निर्देशन दिइएको छ ।

ठमेललगायत रात्रिकालीन व्यवसाय सञ्चालन हुने क्षेत्रबाट ध्वनि प्रदूषण, अवाञ्छित गतिविधि तथा छात्राबास सम्बन्धी समस्याका गुनासा बढ्दै गएको उल्लेख गर्दै महानगरले संयुक्त अनुगमनबाट सुधार ल्याउने अपेक्षा गरेको छ ।

यसैबीच, अतिरिक्त प्रहरी महानिरीक्षक ईश्वर कार्कीले सहरी सुरक्षामा प्रविधिमैत्री निगरानी आवश्यक रहेको बताएका छन् भने उपत्यका ट्राफिक प्रहरी प्रमुख नवराज अधिकारीले सडक अनुशासन कायम गर्न महानगर र ट्राफिक प्रहरीबीच सहकार्य बढाउनुपर्नेमा जोड दिएका छन् ।

प्रहरीका अनुसार काठमाडौंबाट दैनिक करिब ७०० सार्वजनिक सवारी बाहिरिने गरेका छन्, जसमध्ये झण्डै ३५० बसपार्क बाहिरैबाट सञ्चालन हुने गरेका छन्।

नयाँ बसपार्क १६१ रोपनी क्षेत्रफलमा फैलिएको छ र यहाँ ७५० सवारी व्यवस्थापन गर्न सकिने क्षमता रहेको छ ।

Untitled
Untitled
Untitled