२०८३ जेठ २१ बिहीवार | Thursday, Jun 04 2026

सङ्घीय संसद्को दुवै सदनको अधिवेशन आह्वान

Untitled
Untitled
Untitled

काठमाण्डू, राष्ट्रपति रामचन्द्र पौडेलले यही चैत १९ गते बिहीबार सङ्घीय संसद्को अधिवेशन आह्वान गरेका छन् ।

नेपाल सरकार मन्त्रीपरिषद्को सिफारिसबमोजिम राष्ट्रपति पौडेलले अधिवेशन आह्वान गरेका हुन् ।

राष्ट्रपतिको कार्यालयका प्रवक्ता रितेशकुमार शाक्यले सोमबार जारी गरेको विज्ञप्तिमा राष्ट्रपतिले नेपालको संविधानको धारा ९३ को उपधारा (१) बमोजिम नेपाल सरकार मन्त्रीपरिषद्को सिफारिसमा २०८२ चैत १९ गते बिहीबारका दिन दिउँसो २ बजे सङ्घीय संसद् भवन सिंहदरबार सङ्घीय संसद्को दुवै सदनको अधिवेशन आह्वान गरेको उल्लेख छ ।

यसअघि प्रधानमन्त्री बालेन्द्र शाहको अध्यक्षतामा सोमबार बसेको मन्त्रीपरिषद् बैठकले सङ्घीय संसद्को अधिवेशन आह्वान गर्न राष्ट्रपतिसमक्ष सिफारिस गर्ने निर्णय गरेको थियो ।

सरकारका प्रवक्ता सस्मित पोखरेलले मन्त्रीपरिषद्को सोमबार सम्पन्न बैठकले सङ्घीय संसद्को अधिवेशन चैत १९ गते दिउँसो २ बजे बस्ने गरी आह्वान गर्न राष्ट्रपतिसमक्ष सिफारिस गरेको जानकारी दिए ।

नेपालको संविधानको धारा ९३ मा राष्ट्रपतिले प्रतिनिधि सभाका लागि भएको निर्वाचनको अन्तिम परिणाम घोषणा भएको मितिले ३० दिनभित्र सङ्घीय संसद्को अधिवेशन आह्वान गर्ने उल्लेख छ ।

गत फागुन २१ गते सम्पन्न प्रतिनिधि सभा सदस्य निर्वाचन २०८२ को अन्तिम परिणाम निर्वाचन आयोगले चैत ५ गते राष्ट्रपतिसमक्ष पेस ग¥यो ।

सङ्घीय संसद् सचिवालयको समन्वयमा ज्येष्ठ सदस्यको शपथग्रहण चैत ११ गते भएको भोलिपल्ट ज्येष्ठ सदस्यले प्रतिनिधिसभाका बाँकी सदस्यको शपथग्रहण गराएका थिए ।

चैत १३ गते प्रधानमन्त्रीको नियुक्ति तथा शपथग्रहण भएपछि मन्त्रीपरिषद्को दोस्रो बैठकले संसद् आह्वानका लागि सिफारिस गर्ने निर्णय गरेको हो ।

सङ्घीय संसद् सचिवालयका प्रवक्ता एकराम गिरीले सङ्घीय संसद्को दुवै सदनको बैठक सिंहदरबारमै बस्ने जानकारी दिए ।

उनले भने , “प्रतिनिधि सभाको बैठक सिंहदरबारस्थित नवनिर्मित संसद् भवनको बहुउद्देश्यीय सभाकक्षमा नै बस्ने छ ।

राष्ट्रियसभाको बैठक तत्काल सङ्घीय संसद् सचिवालय परिसरमा रहेको पुरानो राष्ट्रियसभाको भवनमा नै बस्ने छ ।”

संविधानको धारा ९५ को २ मा राष्ट्रपतिले प्रतिनिधि सभाको निर्वाचनपछिको पहिलो अधिवेशन र प्रत्येक वर्षको पहिलो अधिवेशन प्रारम्भ भएपछि सङ्घीय संसद्का दुवै सदनको संयुक्त बैठकलाई सम्बोधन गर्ने व्यवस्था गरेको छ ।

सङ्घीय संसद् सचिवालयले पहिलो अधिवेशनको जुनसुकै बैठकमा समेत राष्ट्रपतिको सम्बोधन हुन सक्ने जनाएको छ ।

राष्ट्रपतिले सम्बोधन गर्ने बैठकअघि सरकारले सङ्घीय संसद् सचिवालयलाई जानकारी गराउने छ ।

बैठकपूर्व सर्वदलीय छलफल

सङ्घीय संसद्को अधिवेशन आह्वान भएपछि ज्येष्ठ सदस्यको आह्वानमा प्रतिनिधिसभामा प्रतिनिधित्व गर्ने दलहरूको बैठक बस्ने तयारी गरिएको छ ।

प्रवक्ता गिरीले पहिलो बैठकको कार्यसूची तय गर्न सर्वदलीय बैठक बस्ने बताए ।

प्रतिनिधिसभामा राष्ट्रिय स्वतन्त्र पार्टी, नेपाली कांग्रेस, नेकपा (एमाले), नेपाली कम्युनिस्ट पार्टी, श्रम संस्कृति पार्टी र राष्ट्रिय प्रजातन्त्र पार्टीको प्रतिनिधित्व छ ।

बैठकमा प्रतिनिधिसभामा प्रतिनिधित्व गर्ने यी दलका प्रतिनिधिहरू सहभागी हुने छन् ।

प्रवक्ता गिरीले सोही बैठकले सभामुख र उपसभामुखको निर्वाचनलगायत कार्यसूचीबारे टुङ्गो लगाउने जानकारी दिए ।

संविधानको धारा ९१ मा प्रतिनिधिसभाको पहिलो बैठक प्रारम्भ भएको मितिले १५ दिनभित्र प्रतिनिधिसभाका सदस्यहरूले आफूमध्येबाट प्रतिनिधिसभाको सभामुख र उपसभामुखको निर्वाचन गर्ने उल्लेख छ ।

संवैधानिक व्यवस्थाबमोजिम ज्येष्ठ सदस्य अर्जुननरसिंह केसीको अध्यक्षतामा बस्ने सर्वदलीय बैठकको सहमतिबमोजिम सङ्घीय संसद् सचिवालयले सभामुख र उपसभामुखको निर्वाचन कार्यक्रम सार्वजनिक गर्ने छ ।

राष्ट्रियसभाको कार्यसूची तय गर्न भने माथिल्लो सदनको कार्य व्यवस्था परामर्श समितिको बैठक बस्ने छ ।

सो बैठकमा राष्ट्रियसभामा प्रतिनिधित्व गर्ने दलका सचेतक तथा कानूनमन्त्री सहभागी हुने छन् ।

Untitled
Untitled
Untitled