काठमाण्डू, प्रतिनिधिसभाका ज्येष्ठ सदस्य अर्जुननरसिंह केसीले प्रतिनिधिसभाका नवनिर्वाचित २७४ जना सदस्यलाई बिहीबार पद तथा गोपनीयताको शपथ गराउँदै छन् ।
उनले सभाको ज्येष्ठ सदस्यको हैसियतमा बुधबार राष्ट्रपति रामचन्द्र पौडेलबाट शपथग्रहण गरेका थिए ।
सङ्घीय संसद् सचिवालयका प्रवक्ता एकराम गिरिले निर्वाचित सदस्यको शपथका लागि प्राविधिक तथा व्यवस्थापकीय तयारी पूरा भएको र चैत १२ गते बिहीबार दिउँसो २ बजे निर्माणाधीन सङ्घीय संसद् भवनको बहुउद्देश्यीय सभाकक्ष, सिंहदरबारमा शपथग्रहण हुने जानकारी दिए ।
उनले विवरण समावेश गर्नुपर्ने भएकाले शपथग्रहण हुनुभन्दा दुई घण्टाअगावै नवनिर्वाचित सदस्यलाई सिंहदरबारमा पुग्न आग्रह गरिएको बताए ।
प्रतिनिधिसभा सदस्य निर्वाचन ऐन, २०७४ को दफा ७५ ले सदस्यले प्रतिनिधिसभा वा त्यसको कुनै समितिको बैठकमा भाग लिनुअघि प्रतिनिधिसभाको अध्यक्षता गर्ने व्यक्तिसमक्ष शपथ लिनुपर्ने व्यवस्था गरेको छ ।
सो व्यवस्थाबमोजिम प्रतिनिधिसभाको अध्यक्षता गर्ने व्यक्ति अर्जुननरसिंह केसीले नवनिर्वाचित सदस्यलाई शपथ गराउने छन् ।
प्रवक्ता गिरिका अनुसार नवनिर्वाचित सदस्यको विवरण सङ्कलन गर्नुपर्ने हुँदा निर्वाचित भएको प्रमाणपत्रको प्रतिलिपि, दुई प्रति फोटो, नागरिकता प्रमाणपत्रको प्रतिलिपि बुझाउनुपर्ने हुन्छ ।
सचिवालयले अभिलेख व्यवस्थापन गर्न नवनिर्वाचित सदस्यलाई उपलब्ध गराएको आवेदन भर्नुपर्ने, बैङ्क खाता र व्यक्तिगत सम्पर्क नम्बर संसद् सचिवालयको सांसद सुविधा व्यवस्थापन शाखामा बुझाउन आग्रह गरेको छ ।
शपथ लिन छुटेका सदस्यको अनुकूलता अनुसार सभाको अध्यक्षता गर्ने ज्येष्ठ सदस्यले शपथग्रहण गराउने व्यवस्था मिलाइएको छ ।
प्रवक्ता गिरीले भने, “छुटेका सदस्यलाई सभाको अध्यक्षले व्यक्तिगत रूपमा उहाँहरूको अनुकूलताबमोजिम शपथग्रहण गराउनुहुने छ ।”
चवन्न जनाले मातृभाषामा शपथ लिने
नवनिर्वाचित सदस्यमध्ये ५४ जनाले मातृभाषामा शपथ लिने सचिवालयलाई जानकारी गराएको छ ।
प्रवक्ता गिरिले भने, “बुधबार ५ बजेसम्म ५४ जना सदस्यले मातृभाषामा शपथ लिने जानकारी गराएका छन् ।
यो सङ्ख्या अझै बढ्न सक्छ ।” सचिवालयले नवनिर्वाचित सदस्यलाई आफूले शपथ लिन चाहेको सम्बन्धित भाषामा शपथको बेहोरा अनुवाद गरी शपथ कार्यक्रमभन्दा तीन दिनअगावै जानकारी गराउन सूचित गरेको थियो ।
तर, शपथग्रहणको पूर्वसन्ध्यामा समेत नवनिर्वाचित सदस्यहरूले मातृभाषामा शपथ लिन चाहेको विवरण सचिवालयमा बुझाएका छन् ।
नेपालीबाहेक मैथिली, भोजपुरी, नेपाल भाषा, बज्जिका, रानाथारू, थारूलगायतका भाषामा शपथ लिने नवनिर्वाचित सदस्यले सचिवालयलाई जानकारी गराएका छन् ।
नवयुवा पुस्ताको आन्दोलनको जगमा भएको निर्वाचनबाट निर्वाचित सदस्यको शपथपछि कार्यकाल शुरु हुने छ ।


































