२०८३ जेठ २१ बिहीवार | Thursday, Jun 04 2026

कपिलवस्तुमा निषेधाज्ञा जारी, प्रहरीको गोली लागेर घाइते भएका चारमध्ये १ जना गम्भीर

Untitled
Untitled
Untitled

कपिलवस्तु, कपिलवस्तु जिल्लाको महाराजगञ्ज नगरपालिकास्थित बरगदा गाउँमा रहेको एक मन्दिरमा मुस्लिम समुदायका केही युवाले तोडफोड गरेको विषयमा उत्पन्न विवाद चर्कँदै गएको छ।

शनिबार बिहान नमाज पढ्ने समयमा काली मन्दिरमा रहेको भजन बज्ने साउण्ड सिस्टम मुस्लिम युवाहरुले तोडफोड गरेका थिए। सोही विषयमा उत्पन्न विवादले उग्र रुप लिएको हो।

हिन्दू समुदायका युवाहरूले दोषी उपर कारबाहीको माग गर्दै शनिबार गरेको प्रदर्शन नियन्त्रण गर्न खोज्दा प्रहरीको गोली लागेर ४ जना घाइते भएका छन्।

गोली लागि घाइते हुनेहरूमा महाराजगंज नगरपालिका(६ का २३ वर्षीय अरुण यादव, २१ वर्षीय महेन्द्र रैदास, २५ वर्षीय प्रदीप पासी, कृष्णनगर नगरपालिका ( ७ का २० वर्षीय भानु पासी रहेका छन्।

घाइते ४ जनामध्ये २३ वर्षीय अरुण यादवको पेटमा गोली लागेको र उनको अवस्था गम्भीर रहेको छ।

भैरहवाबाट थप उपचारका लागि घाइते यादवलाई चितवन लगिएको छ। गोली लागेर घाइते भएका बाँकी ३ जनाको भैरहवास्थित मेडिकल कलेजमा उपचार भई रहेको छ।

प्रदर्शनका क्रममा ७० वर्षी काशी रैदासको टाउकोमा चोट लागेको र अवस्था सामान्य रहेको शिवराज अस्पताल बहादुरगंजले जनाएको छ।

जिल्ला सुरक्षा समितिको बैठकले शनिबार दिउँसोबाट लगाएको निषेधाज्ञा अझै जारी छ।

पूर्वमा हुलाकी चौक, पश्चिम तर्फ बहादुरगंज चौक, दक्षिणमा हर्दौना र उत्तरतर्फ महाराजगंज बजारसम्म लगाइएको निषेधाज्ञालाई थप गरी पूर्वमा लवनी, पश्चिममा वर्गदी पुल, उत्तरमा पचेहरा र दक्षिणमा बभनी चौकसम्म निषेधाज्ञा बढाइएको छ।

स्थितिलाई नियन्त्रणमा लिन र धार्मिक तथा सामाजिक सद्भाव कायम राख्न पहल गर्न आफूले जिल्लाका निर्वाचित सांसद तथा स्थानीय पालिकाका प्रमुख तथा प्रतिनिधि र धार्मिक नेता तथा अगुवासँग निरन्तर संवादमा रहेको सहायक प्रमुख जिल्ला अधिकारी भविश्वर घिमिरेले बताए।

Untitled
Untitled
Untitled