२०८३ जेठ २१ बिहीवार | Thursday, Jun 04 2026

काठमाडौँ उपत्यकासहित देशका धेरै ठाउँमा हुरीबतास, चट्याङ र वर्षा

Untitled
Untitled
Untitled

काठमाण्डू, मौसम बदलीसँगै काठमाडौँ उपत्यकासहित आज देशका धेरै ठाउँमा हुरीबतास, चट्याङ र असिनासहितको वर्षा भएको छ।

हुरीबतासका कारण ललितपुरको भैँसेपाटीमा रुख ढलेर अवरुद्ध भएको बाटो खुलाइएको केन्द्रीय प्रहरी प्रवक्ता अविनारायण काफ्लेले जानकारी दिए ।

आजै हुरीले सातदोबाटोस्थित सेल्सबेरीको बोर्ड नै ढालेको प्रहरीले जनाएको छ । सो क्षेत्रमा मानवीय क्षति भने भएको छैन ।

जल तथा मौसम विज्ञान विभागका अनुसार पछिल्लो १२ घण्टामा आज काठमाडौँमा ९.२, ललितपुरमा सात र भक्तपुरमा ३.४ मिलीमिटर वर्षा भएको छ ।

यस्तै आज सबैभन्दा बढी वर्षा धनकुटामा ३६.२ मिलीमिटर वर्षा भएको छ । पाल्पामा २४.८ र गुल्मीमा ९.२, तनहुँमा १० मिलीमिटर वर्षा भएको छ ।

सुदूरपश्चिम र कर्णालीमा आज छिटफुट वर्षा भएको छ भने अन्य प्रदेशका धेरै जिल्लामा वर्षा भएको छ ।

विभागका सूचना अधिकारी दिनकर कायस्थले विस्तारै मौसम सुधारको क्रममा रहेको जानकारी दिँदै भोलि पनि ठाउँठाउँमा बदली रहेको बताए ।

विभागका अनुसार आज राति देशको हिमाली भू-भागमा साधारणतया बादल लाग्ने तथा बाँकी पहाडी र तराई भू-भागमा आंशिक बादल लाग्नेछ ।

कोशी, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशको हिमाली भू-भागका थोरै स्थानहरूमा र बाँकी हिमाली भू-भागका एक/दुई स्थानमा मेघगर्जन, चट्याङसहित हल्का वर्षा र हिमपातको सम्भावना रहेको छ ।

कोशी र बागमती प्रदेशको पहाडी भू-भागका थोरै स्थानहरूमा, गण्डकी र कर्णाली प्रदेशको पहाडी भू-भागका एक/दुई स्थानमा मेघगर्जन/चट्याङसहित हल्का वर्षाको सम्भावना छ ।

यस्तै भोलि मङ्गलबार देशको हिमाली भू-भागमा साधारणतया बादल लाग्ने तथा बाँकी पहाडी र तराई भू-भागमा आंशिक बादल लाग्नेछ ।

कोशी, बागमती र गण्डकी प्रदेशको हिमाली भूभागका थोरै स्थान र बाँकी हिमाली भू-भागका एक/दुई स्थानमा मेघगर्जन र चट्याङसहित हल्का वर्षा र हिमपातको सम्भावना रहेको छ ।

कोशी, बागमती र गण्डकी प्रदेशको पहाडी भू-भागका एक/दुई स्थानमा मेघगर्जन र चट्याङसहित हल्का वर्षाको सम्भावना रहेको जनाइएको छ ।

रासस

Untitled
Untitled
Untitled