२०८३ जेठ २१ बिहीवार | Thursday, Jun 04 2026

जलाउने र बिगार्ने शक्तिलाई भोट दिनु हुँदैन : अध्यक्ष ओली

Untitled
Untitled
Untitled

दमक, नेकपा एमालेका अध्यक्ष केपी ओलीले आगामी निर्वाचनलाई ‘देश बनाउने र देश जलाउने शक्तिहरूबीचको महासंग्राम’को संज्ञा दिएका छन् ।

उनले दमकमा धिमाल समुदायका अगुवाहरूसँगको भेटघाटमा बोल्दै निर्वाचन केवल प्रतिनिधि छनोटको विषय मात्र नभई विकासका लागि बजेट राख्ने र काट्नेहरूबिचको लडाइँ भएको बताए ।

उनले आफू नेतृत्वको सरकारले धिमाल जातिको संग्रहालय, होमस्टे तथा सडक निर्माणका लागि करोडौँ रुपैयाँ बजेट विनियोजन गरेको तर वर्तमान सत्ता गठबन्धनले ती बजेट अनधिकृत रूपमा कटौती गरेको आरोप लगाए ।

‘यसपटकको चुनाव देश बनाउने कि जलाउनेहरूबीचको हो । धिमाल जातिको विकासका लागि बजेट राख्ने र बजेट काट्नेहरूबिच पनि यही चुनाव हो,‘उनले भने ।

ओलीले चिया बगानदेखि उत्तरतर्फको सडकका लागि एडीबीमार्फत ३ करोड रुपैयाँ बजेट छुट्याइएको तर आफू सरकारबाट हटेपछि उक्त योजना नै काटिएको दाबी गरे ।

आगामी फागुन २१ गतेपछि एमाले नेतृत्वको सरकार बने पुनः ती बजेट फिर्ता ल्याइने प्रतिबद्धता पनि उनले जनाए ।

धिमाल समुदायलाई ‘धर्तीपुत्र’ र ‘प्रथम नागरिक’को संज्ञा दिँदै ओलीले उनीहरूको पहिचान मेटाउन खोजिएको आरोप लगाए ।

आफू २०२० सालदेखि नै धिमाल समुदायसँग नजिक रहेको स्मरण गर्दै विसं २०५१ सालमा गृहमन्त्री हुँदा धिमाल जातीय विकास केन्द्रका नाममा संग्रहालय तथा उद्योग सञ्चालनका लागि १० बिगाहा जमिन भोगाधिकार दिएको तथ्य पनि उल्लेख गरे ।

अध्यक्ष ओलीले धिमाल समुदायबाट शिक्षित युवाहरू नेतृत्वमा आउन थालेकोमा खुशी व्यक्त गर्दै आगामी दिनमा राज्यका विभिन्न निकायमा उनीहरूको उचित प्रतिनिधित्वका लागि एमालेले विशेष ध्यान दिने बताए ।

शिक्षा, स्वास्थ्य र मौलिक पहिचानको संरक्षण नै आफ्नो मुख्य एजेन्डा रहेको उल्लेख गर्दै उनले कसैको भ्रममा नपर्न आग्रह गरे ।

Untitled
Untitled
Untitled