२०८३ जेठ २१ बिहीवार | Thursday, Jun 04 2026

बारामा एमाले नेताको विरोधमा प्रदर्शन हुँदा ‘कर्फ्यू’ आदेश जारी

Untitled
Untitled
Untitled

सिमरा, बारामा नेकपा एमालेका युवा संगठनको आयोजनामा हुन लागेको एक कार्यक्रममा पार्टीका महासचिव शंकर पोखरेल र महेश बस्नेत आउने भएपछि विरोध प्रदर्शन हुँदा ‘कर्फ्यू’ आदेश जारी गरिएको छ ।

राष्ट्रिय युवा संघ नेपाल मधेस प्रदेश कमिटीको आयोजनामा बाराको परवानीपुर गाउँपालिका- ४ चैनपुरमा हुन लागेको युवा जागरण अभियानमा प्रमुख अतिथिको रुपमा पोखरेल र बस्नेत आउन लागेपछि सिमरामा युवाहरुले विरोध प्रदर्शन गरेका हुन् ।

युवाहरुको विरोध प्रदर्शनपछि स्थानीय प्रशासनले ‘कर्फ्यू’ आदेश जारी गरेको हो ।

सिमरा विमानस्थल आसपास क्षेत्रमा जेनजी युवाहरुको प्रदर्शन तथा राजनीतिक दल आवद्ध समूहहरुबीच झडप भइरहेकाले सरकारी सम्पत्ति, पदाधिकारी, कर्मचारी, सरकारी कार्यालयलगायत निजी सम्पत्ति क्षतिथ हुन नदिन एव परिस्थिति थप विग्रन नदिन ‘कर्फ्यू’ लगाइएको प्रमुख जिल्ला अधिकारी धमेन्द्रकुमार मिश्रले जानकारी दिएका हुन् ।

आज दिउँसो साढे १२ बजेदेखि बेलुका ८ बजेसम्मका लागि स्थानीय प्रशासन ऐन, २०२८ को दफा ६(क) र (ख) बमोजिम बाराको जीतपुर सिमरा उपमहानगरपालिका भित्र चारकिल्ला क्षेत्र निर्धारण गरेर ‘कर्फ्यू’ आदेश जारी गरिएको हो ।

गण्डक नहरदेखि पथलैया सडक खण्ड राजमार्गको दाँया(बाँया ५ सय मिटरसम्म तथा सिमरा विमानस्थलको वरिपरि ५ सय मिटरसम्म कसैले आवतजावत, कुनै प्रकारको भेला, जुलुस, प्रदर्शन, सभा बैठक, घेराउ गर्न नपाउने गरी ‘कर्फ्यू’ आदेश जारी गरिएको प्रमुख जिल्ला अधिकारी मिश्रले जारी गरेको आदेशमा उल्लेख छ ।

पोखरेल र बस्नेत आउनेभएपछि प्रदर्शन चर्किँदै जाँदा सिमरा विमानस्थलमा तोडफोडसमेत भएको छ ।

Untitled
Untitled
Untitled