२०८३ जेठ २१ बिहीवार | Thursday, Jun 04 2026

धनकुटा बस दुर्घटनामा मृतकको संख्या ३ पुग्यो, १२ जनाको उपचार हुँदै

Untitled
Untitled
Untitled

धनकुटा, धनकुटामा सोमबार बिहान भएको बस दुर्घटनामा मृत्यु हुनेको संख्या तीन पुगेको छ।

दुर्घटनामा गम्भीर घाइते भएका भोजपुरको षडानन्द नगरपालिका-१३ का ५८ वर्षीय लिलाबहादुर श्रेष्ठको उपचारको क्रममा आज बिहान मृत्यु भएको प्रहरीले जनाएको छ।

यसअघि बस चालक सुनसरीको धरान उपमहानगरपालिका( १३ का ५१ वर्षीय रुद्र तामाङ र धनकुटा नगरपालिका– ६ कि ७३ वर्षीया कृष्ण कुमारी राई (भुजेल)को मृत्यु भएको थियो।

दुर्घटनामा गम्भीर घाइते भएका चालकको धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा मृत्यु भएको थियो। कृष्णकुमारीको जिल्ला अस्पताल धनकुटामा मृत्यु भएको प्रहरीले जनाएको छ।

श्रेष्ठको पनि उपचारको क्रममा धरानमा मृत्यु भएको प्रहरी जिल्ला प्रहरी कार्यालय धनकुटाले जनाएको छ।

सोमबार बिहान धरानबाट भोजपुरतर्फ जाँदै गरेको को १ ख २१७७ नम्बरको बस धनकुटा नगरपालिका– ६ मा दुर्घटना हुँदा १५ जना घाइते भएका थिए।

दुर्घटनामा घाइते भएकामध्ये थप २ जनाको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ। घाइते १२ जनाको उपचार भइरहेको प्रहरीले जनाएको छ।

उकालो चढ्ने क्रममा एयर पाइप फुटेर ब्रेक नलाग्दा बस दुर्घटना भएको प्रहरीले जनाएको छ।

घाइतेहरुको जिल्ला अस्पताल धनकुटा र बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा उपचार भइरहेको छ।

Untitled
Untitled
Untitled