२०८१ असोज १९ शनिवार | Saturday, Oct 05 2024

टी-२० सिरिजमा पनि नेपालको खराब प्रदर्शन, क्यानडासँग १४ रनले पराजित

Untitled
Untitled
Untitled

काठमाण्डू, निकै खराब लयमा रहेको नेपाली क्रिकेट टिमले टी–२० सिरिजमा पनि हारबाट सुरुवात गरेको छ ।

शनिबार राति सम्पन्न खेलमा झुर ब्याटिङको निरन्तरता जारी राखेपछि नेपालले टी–२० सिरिजमा पनि हारबाट सुरुवात गरेको हो ।

यस खेलमा क्यानडासँग नेपाल १४ रनले स्तब्ध भयो । नेपालले हालै सम्पन्न आइसिसी विश्वकप लिग–२ सिरिजको पहिलो खेलमा पनि क्यानडासँग नै पराजय बेहोरेको थियो ।

टी–२० मा पनि नेपालले सोही लय दोहोर्यायो । यस खेलमा क्यानडाले दिएको १ सय २४ रनको सामान्य लक्ष्य पछ्याएको नेपाल १९ ओभरमा १ सय ९ रनमै अलआउट भयो ।

नेपालका लागि कप्तान रोहितकुमार पौडेलले ३९ बलमा दुई चौका र दुई छक्कासहित सर्वाधिक ३७ रन बनाए ।

यस्तै, कुशल मल्लले १२, देव खनालले ११ र सन्दीप लामिछानेले १० रन जोडे । बाँकी ब्याटरले भने दोहोरो अंकमा समेत रन बनाउन सकेनन् ।

यस खेलमा ओपनिङ ब्याटरद्वय कुशल भुर्तेल ९ र आसिफ शेख ८ रनमै आउट भए । धेरैजसो ब्याटर छक्का प्रहार गर्ने धुनमा क्याच आउट हुन पुगे ।

नेपाललाई १०९ रनमै अलआउट गर्नेक्रममा क्यानडाका पाकिस्तानीमूलका तीव्र गतिका बलर कलीम सानाले ४ ओभरमा २६ रन दिएर सर्वाधिक चार विकेट लिए ।

यस्तै, सादबिन जाफरले ४ ओभरमा मात्र १३ रन दिएर तीन विकेट हात पारे । प्रवीन कुमार र अखिल कुमारको नाममा एकरएक विकेट रह्यो ।

त्यसअघि टस हारेर ब्याटिङको निम्तो पाएको क्यानडाले निर्धारित २० ओभरमा ८ विकेट गुमाएर १ सय २३ रन बनायो ।

उसका लागि सादबिन जाफरले २३, श्रेयस मोभ्वाले २२, प्रवीन कुमारले १९, दीलप्रित बाज्वा र अखिलकुमारले १४र१४ तथा नवनीत धालिवालले १३ रन बनाए ।

नेपालका लागि सन्दीप लामिछानेले ४ ओभरमा २९ रन दिएर तीन विकेट लिए । यस्तै, सोमपाल कामीले ४ ओभरमा ३१ रन खर्चेर तीन विकेट नै हात पारे ।

रिजन ढकाल र दीपेन्द्र सिंह ऐरीको नाममा एक/एक विकेट रह्यो । यो जितपछि सिरिजमा क्यानडाले दुई अंक जोड्यो । ऊ अहिले तालिकाको शीर्ष स्थानमा छ ।

नेपालले अब टी–२० श्रृंखलाको दोस्रो खेलमा आइतबार ओमानको सामना गर्दैछ । यी दुई टिमबीचको खेल पनि राति ९ः४५ देखि सुरु हुनेछ ।

Untitled
Untitled
Untitled