२०८१ असोज २६ शनिवार | Saturday, Oct 12 2024

लिग-२ मा क्यानडासँग खेल्दै नेपाल

Untitled
Untitled
Untitled

काठमाण्डू, आइसीसी विश्वकप लिग–२ अन्तर्गत आफ्नो दोस्रो सिरिजको पहिलो खेलमा नेपालले आज घरेलु टोली क्यानडाको सामना गर्दैछ ।

यी दुई टिमबीचको प्रतिस्पर्धा राति ७ः४७ देखि किंग्स सिटीस्थित मेपललिफ नर्थ–वेस्ट ग्राउन्डमा सुरु हुनेछ ।

नेपाल पहिलो खेलमा क्यानडालाई हराउँदै सिरिजमा उत्कृष्ट सुरुवात गर्न चाहन्छ ।

उता क्यानडा घरेलु मैदानको फाइदा उठाउँदै नेपाललाई स्तब्ध पार्ने दाउमा छ । यद्यपि ऊ पछिल्लो समय खराब लयमा छ ।

गत अगस्टमा भएको लिग–२ श्रृंखलामा उसले चारवटै खेलमा पराजय बेहोर्‍यो । क्यानडाले पहिलो सिरिजमा भने चारवटै खेल जित्दै अविश्वसनीय सुरुवात गरेको थियो ।

ऊ फेरि सोही लय दोहोर्याउँदै अंक तालिकामा सुधार गर्न चाहन्छ । क्यानडाले अहिलेसम्म आठ म्याच खेल्दा चारमा जीत र चार खेलमा हार बेहोरेको छ ।

र, ऊ आठ अंकसहित तालिकाको तेस्रो स्थानमा छ । यता नेपालले जारी लिग–२ संस्करणमा चार म्याच खेलेको छ ।

गत फेब्रुअरीमा घरेलु मैदानमा खेलिएको उक्त सिरिजमा नेपालले तीनमा हार तथा एक खेलमा मात्र जीत निकाल्यो । नेपाल अहिले दुई अंकसहित तालिकाको सातौं स्थानमा छ ।

टिम अब क्यानडा सिरिजमा उत्कृष्ट प्रदर्शन गर्दै अंक तालिकामा सुधार गर्ने योजनामा छ । त्यसका लागि नेपालको ब्याटिङ चल्न आवश्यक छ ।

विदेशी मैदानमा नेपाली ब्याटर प्रायः रन बनाउन संघर्ष गरिरहेका हुन्छन् । र, गत शुक्रबार भएको स्थानीय क्लब एचपी जग्वार्ससँगको खेलमा पनि नेपाल पूरा ५० ओभर मैदानमा टिक्न सकेन ।

टिम अब त्यो गल्ती सुधार गर्दै सानदार कमब्याकको पर्खाइमा छ ।

अन्तर्राष्ट्रिय मान्यता प्राप्तपछि हालसम्म नेपालले क्यानडासँग तीन ओडिआई खेलेको छ । र, नेपालले ती तीनवटै खेल जितेको विगत छ ।

यी दुई टोलीले गत फेब्रुअरीमा एकदिवसीय सिरिज खेलेका थिए । उक्त श्रृंखलाको पहिलो खेलमा नेपालले उत्कृष्ट कमब्याक गर्दै सात रनको रोमाञ्चक जीत निकाल्यो ।

घरेलु मैदानमा खेलिएको त्यस खेलमा नेपाल २२४ रनमा अलआउट भएको थियो । २२५ रनको लक्ष्य पछ्याएको क्यानडा ४७.५ ओभरमा २१७ रनमा अलआउट भयो ।

यस्तै, नेपालले दोस्रो खेलमा क्यानडाविरुद्ध ४ विकेटको जीत निकाल्यो ।

उक्त खेलमा क्यानडाले दिएको २८६ रनको लक्ष्य नेपालले ४५।१ ओभरमा ६ विकेट गुमाएर पूरा गर्‍यो ।

नेपालको जितमा कप्तान रोहितकुमार पौडेलले अलराउन्ड प्रदर्शन गरे । उनले ब्याटिङमा १०१ बलमा ८७ रन बनाउँदा बलिङमा २ विकेट लिए ।

यस्तै, क्यानडाविरुद्धको तेस्रो ओडिआई नेपालले ९ विकेटले जित्यो । १२ फेब्रुअरीमा खेलिएको उक्त म्याचमा क्यानडाले दिएको २३२ रनको लक्ष्य नेपालले ४४।३ ओभरमा एक विकेट गुमाएर पूरा गर्यो ।

सो खेलमा अनिलकुमार शाह र भीम सार्कीले शतकीय इनिङ खेलेका थिए ।

नेपाल यसपालि पनि क्यानडाविरुद्धको अपराजित यात्रा कायम राख्न चाहन्छ । नेपालले सिरिजको पहिलो खेलमा प्लेइङ–११ मा ओपनिङ ब्याटरको जिम्मेवारी आसिफ शेख र कुशल भुर्तेललाई दिने सम्भावना बलियो छ ।

कुशल पछिल्लो समय राम्रो लयमा छन् । उनले पछिल्लो दुई अभ्यास खेलमा राम्रो प्रदर्शन गरेका छन् ।

यस्तै, तेस्रो नम्बरमा अनिलकुमार साहले मौका पाउने सम्भावना उच्च छ । क्यानडाविरुद्ध उनको रेकर्ड राम्रो छ । शुक्रबार भएको अभ्यास खेलमा पनि अनिल राम्रो लयमा देखिएका थिए ।

त्यस्तै, चौथो स्थानमा कप्तान रोहितकुमार पौडेल, पाँचौंमा भीम सार्की, छैटौँमा आरिफ शेख, सातौँमा दीपेन्द्रसिंह ऐरी, आठौँमा सोमपाल कामी, नवौँमा करण केसी, दसौँमा सन्दीप लामिछाने र ११औँ स्थानमा ललित नारायण राजवंशीले मौका पाउन सक्छन् ।

पहिलो खेलमा गुलशनकुमार झा, कुशल मल्ल, अर्जुन साउद र रिजन ढकालले मौका पाउने सम्भावना अलि कम छ ।

Untitled
Untitled
Untitled