काठमाण्डू, सरकारले काभा महिला भलिबल नेसन्स लिगमा उपविजेता बन्दै पदक जित्न सफल नेपाली राष्ट्रिय महिला भलिबल टोली, प्रशिक्षक, व्यवस्थापक र फिजियोथेरापिस्टलाई नगद पुरस्कारसहित सम्मान गरेको छ ।
गत ३१ साउनको मन्त्रिपरिषद् बैठकको निर्णय अनुसार आज बिहान प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा एक कार्यक्रमको आयोजना गर्दै उनीहरूलाई सम्मान गरिएको हो ।
सरकारले १४ जना खेलाडीलाई जनही तीन लाख, मुख्य प्रशिक्षक जगदीशप्रसाद भट्टलाई २ लाख, सहायक प्रशिक्षक भरत यादवलाई १ लाख २० हजार र फिजियो थेरापिस्ट लोकन्द्र कुँवरलाई पनि १ लाख २० हजार रुपैयाँ नगद पुरस्कारसहित सम्मान गरेको हो ।
सम्मानित हुने खेलाडीमा प्रगति नाथ, सरस्वती चौधरी, उषा भण्डारी, निरुता ठगुन्ना, पूनम चन्द, सुमित्रा रेग्मी, कविता भट्ट, आरती सुवेदी, संगम महतो, सलीना श्रेष्ठ, शान्तिकला तामाङ, कामना विष्टलगायत रहेका छन् ।