काठमाण्डू, अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आइसीसी) को ओडीआई वरीयतामा नेपालले एक स्थान सुधार गरेको छ ।
नयाँ वरीयताअनुसार नेपाल १६औँ स्थानमा उक्लिएको हो । क्यानडा १८औँ स्थानमा झर्दा नेपालको वरीयतामा सुधार भएको हो ।
ओडीआईमा नेपालको उत्कृष्ट वरीयता १४औँ स्थान हो । नेपालले उक्त उपलब्धि सन् २०१९ मा हासिल गरेको थियो ।
त्यसयता भने नेपालले वरीयतामा व्यापक सुधार गर्न सकेको छन् । नेपालसामु अब आसन्न क्यानडा भ्रमणमा उत्कृष्ट प्रदर्शन गरेर वरीयतामा थप सुधार गर्ने मौका छ ।
हाल एसोसियट राष्ट्रमा स्कटल्याण्ड ओडीआई र टी–२० आईतर्फ शीर्ष स्थानमा छ ।
समग्रमा भने ऊ ओडीआई वरीयताको ११औँ स्थानमा छ । यस्तै, एसोसीयटतर्फ दोस्रोमा नेदरल्याण्ड्स, तेस्रोमा नामिबिया र चौथो स्थानमा नेपाल रहेको छ ।
नेपालभन्दा पछाडि ओमान, क्यानडा, अमेरिका र यूएई रहेका छन् । यस्तै, नेपाल टी–२० आई वरीयतामा १७औँ स्थानमा कायमै छ । टी–२० आईमा एसोसीयट राष्ट्रमा नेपाल पाँचौं स्थानमा छ ।
नेपालभन्दा अगाडि स्कटल्याण्ड, नामिबिया, नेदरल्याण्ड्स र यूएई रहेका छन् । टी–२० आईमा नेपालको उत्कृष्ट वरीयता ११औँ स्थान हो ।
नेपालले उक्त उपलब्धि सन् २०१९ मा हासिल गरेको थियो ।