२०८१ माघ १२ शनिवार | Saturday, Jan 25 2025

जय ट्रफीमा पुलिस र आर्मीलाई अग्रता

Untitled
Untitled
Untitled

काठमाडौं । नेपाल पुलिस क्लबले जय ट्रफी मेन्स एलिट कपमा पहिलो दिनको खेल समाप्ति हुँदा मधेस प्रदेशविरुद्ध ४५ रनको अग्रता लिएको छ। वीरगञ्जस्थित नारायणी क्रिकेट मैदानमा बुधबारको खेल समाप्त हुँदा पुलिसले ३ विकेटको क्षतिमा १ सय ७४ रन बनाएको हो।

टोलीका अमित श्रेष्ठ ३४ र कप्तान आरिफ शेख १३ रनमा नटआउट रहेका छन्। यसअघि कुशल भुर्लेल ६४, दिलिप नाथ ४० र गुलसन झा २० रनमा आउट भएका थिए। मधेसको बलरमा कप्तान हरिशंकर साहले दुई तथा अभिषेक तिवारीले एक विकेट लिए।

टस हारेर ब्याटिङ गरेको मधेस प्रदेश पहिलो इनिङमा १ सय २९ रनमै समेटिएको थियो। मधेसका लागि मायन यादवले सर्वाधिक ५३ रनको योगदान गरे पनि अन्य ब्याटरले उल्लेखनीय प्रदर्शन गर्न सकेनन्। दोहोरो अंकमा रन बनाउने क्रममा निरज यादवले २९ र अभिषेक तिवारीले १७ रन जोडेका थिए।

पुलिसको बलिङमा गुलसन एक्लैले ५ विकेट लिए। यस्तै, कुशल भुर्लेलले दुई तथा ललितनारायण राजवंशी र श्रवण यादवले समान एक विकेट लिए। प्रतियोगिताअन्तर्गत अर्को खेलमा त्रिभुवन आर्मी क्लबले वागमती प्रदेशविरुद्ध १ सय ५२ रनको अग्रता बनाएको छ। जनकपुरस्थित रामजानकी मैदानमा जारी खेलको पहिलो दिन समाप्त हुँदा वागमतीले १ सय २४ रन जोड्दा ५ विकेट गुमाइसक्यो।

क्रिजमा नन्दन यादव १८ रन र विपिन आचार्य एक रनमा नटआउट रहेका छन्। टोलीका शुभ कंसाकारले सर्वाधिक ३४ रन बनाए भने उत्तम मगर २८ रनमा आउट भए। रित गौतम २१ र आशुतोष घिरैया ११ रन बनाएर पेभेलियन फर्किएका थिए। आर्मीका लागि आकाश चन्दले तीन तथा सोमपाल कामीले दुई विकेट लिए।

त्यसअघि ब्याटिङको गरेको आर्मीले पहिलो इनिङमा निर्धारित ६० ओभरमा पाँच विकेट गुमाउँदै २ सय ७६ रन बनाएको थियो। जसमा, दुई खेलाडीले अर्धशतक बनाए । टोलीका लागि इमरान शेखले सर्वाधिक ७२ रन जोडे।

यसै गरी बसिर अहमदले छिटो छरितो ब्याटिङ गरे। नटआउट भएका उनले ६४ बलको सामना गर्दा ५३ रन बनाए। तर, ४४ रनमा आउट भएका तृतराज दास ६ रनले अर्धशतकबाट चुके । कुशल मल्ल ३५ रनमा नटआउट रहे भने भीम सार्कीले ३२ रन बनाए।

वागमतीका लागि विपिन आचार्यले तीन र कप्तान सन्दीप लामिछानेले दुई विकेट लिए। सन्दीपले २ विकेट लिन २२ ओभरमा १ सय ३ रन खर्चेका थिए । यो जारी प्रतियोगिताको सर्वाधिक रन खर्चिएको समेत थियो।

Untitled
Untitled
Untitled