तानसेन । आठौँ मण्डली कप सुरु भएको छ । बुधबारदेखि पूर्वखोला–१, सिलुवास्थित भलिबल मैदानमा कप सुरु भएको हो ।
एक लाख ५० हजार रुपियाँ राशि पुरस्कार रहेको प्रतियोगितामा छ समूहको सहभागिता रहेको छ । प्रतियोगितामा दोस्रो हुनेले एक लाख र तेस्रो हुनेले ७० हजार रुपियाँसहित मेडल, प्रमाणपत्र पाउने क्लबका अध्यक्ष अन्तप्रसाद श्रेष्ठले जानकारी दिनुभयो ।
उद्घाटन खेल आयोजक मण्डली स्पोर्टस् क्लब र जिल्ला भलिबल सङ्घबिच भइरहेको छ । प्रतियोगितामा महिला समूहबिच पनि प्रतिस्पर्धा हुने क्लबका सचिव कृष्ण पङ्गेनीले जानकारी दिनुभयो । महिलातर्फ पहिलो हुनेले भने ३० हजार रुपियाँको पुरस्कार राशि रहेको छ ।
प्रतियोगिताको उद्घाटन प्रतिनिधिसभाका सदस्य नारायणप्रसाद आचार्यले गर्नुभयो । खेल क्षेत्रको विकासका लागि क्लबले हरेक वर्ष सञ्चालन गर्दै प्रतियोगिता सह्रानीय रहेको उहाँले बताउनुभयो ।
यस्तै प्रदेश सभा सदस्य राजुप्रसाद श्रेष्ठ, गाउँपालिकाका अध्यक्ष नुनबहादुर थापालगायतले खेल क्षेत्रले राष्ट्रिय एकतालाई मजबुत बनाउन सहयोग पुग्ने विश्वास गर्नुभयो ।