काठमाडौं । मित्रराष्ट्र संयुक्त अधिराज्यको वेल्स, ब्रेकनमा असोज २३ गतेबाट २५ गतेसम्म सञ्चालन भएको एक्सरसाइज क्याम्ब्रियन गस्ती २०२४ मा नेपाली सेनाको टोलीले स्वर्ण पदक प्राप्त गरेको छ ।
उक्त अभ्यासमा संयुक्त अधिराज्य बेलायतसहित ३७ राष्ट्रका १२१ वटा अन्तर्राष्ट्रिय टोलीहरूको सहभागिता रहेका थिए ।
सन् १९६० बाट वार्षिक रूपमा सञ्चालन हुँदै आएको अन्तर्राष्ट्रिय स्तरको यस प्रतियोगितामा नेपाली सेनाले सन् २०१४ देखि भाग लिदैं आइरहेको छ ।
दुई दिनभित्रमा हतियार तथा करिब ५० पौण्ड तौल बराबरको उपकरण एवं बन्दोबस्ती सामग्री सहित ५० किलोमिटर दूरी पार गर्नुपर्ने अभ्यासमा सहभागी टोलीको लडाइको तयारी, खबर सङ्कलन, घाइते-बिरामीको व्यवस्थापन लगायतका दक्षताहरूको परीक्षण गरिन्छ ।
यस सँगै नेपाली सेनाले उक्त प्रतियोगितामा सन २०१७/२०१९ मा समेत स्वर्ण पदक प्राप्त गरेको थियो । पुरस्कार वितरण कार्यक्रममा उपरथी दिपक कुमार बानिया अतिथिको रुपमा सहभागी थिए ।