काठमाण्डू, क्यानडामा हुने आइसिसी विश्वकप लिग–२ सिरिजका लागि नेपालले टोली घोषणा गरेको छ ।
नेपाल क्रिकेट संघ (क्यान) ले सोमबार रोहित पौडेलको कप्तानीमा १६ सदस्यीय टिम घोषणा गरेको हो ।
टोलीमा तीन खेलाडीले पुनरागमन गरेका छन् । पुनरागमन गर्नेमा पूर्वकप्तान सन्दीप लामिछाने, विकेटकिपर अर्जुन साउद र बायाँहाते तीव्र गतिका बलर रिजन ढकाल रहेका छन् ।
सन्दीपले १२ महिनापछि ओडिआई टोलीमा पुनरागमन गरेका छन् । उनले यस फरम्याटमा अन्तिमपटक सन् २०२३ को सेप्टेम्बरमा एसिया कपमा भारतविरुद्ध खेलेका थिए ।
यस्तै, अर्जुन साउदले करिब १४ महिनापछि ओडिआई टोलीमा मौका पाए । उनले पछिल्लोपटक ४ जुलाई २०२३ मा ओडिआई खेलेका थिए ।
यस्तै, रिजन सात महिनापछि एकदिवसीय टिममा फर्किएका छन् । यसअघि १९ सदस्यीय टिमभित्र रहेका सन्दीप जोरा, सागर ढकाल र आकाश चन्दले भने क्यानडा सिरिजका लागि टोलीमा स्थान बनाउन सकेनन् ।
यस्तै, यू–१९ टिमका कप्तान देव खनाललाई मुख्य प्रशिक्षक मोन्टी देसाईले रिजर्भ प्लेयरको रूपमा टिममा राखेको छ ।
नेपालले लिग–२ सिरिजमा १६ र २२ सेप्टेम्बरमा क्यानडा तथा १८ र २४ सेप्टेम्बरमा ओमानसँग खेल्ने छ ।
लिग–२ तालिकामा नेपाल हाल सातौं स्थानमा छ । नेपालले चार म्याच खेल्दा तीनमा हार तथा एक खेलमा जित निकालेको छ ।
नेपालले पछिल्लोपटक गत फेब्रुअरीमा ओडिआई खेलेको थियो । यस्तै, क्यानडा भ्रमणमा क्रममा नेपालले २८ सेप्टेम्बर र १ अक्टोबरमा घरेलु टिम तथा २९ सेप्टेम्बर र २ अक्टोबरमा ओमानसँग खेल्ने तालिका छ ।
लिग–२ श्रृंखलाका लागि नेपालको टिम स् कुशल भुर्तेल, आसिफ शेख, रोहित पौडेल, अनिलकुमार साह, भीम सार्की, कुशल मल्ल, अर्जुन साउँद, आरिफ शेख, दीपेन्द्रसिंह ऐरी, गुलशन झा, सोमपाल कामी, करण केसी, सन्दीप लामिछाने, ललितनारायण राजवंशी र रिजन ढकाल ।
रिजर्भ प्लेयर : देव खनाल ।