एजेन्सी, भारतमा जारी एसएमएस फ्रेण्डसिप कप टी–२० प्रतियोगिताको फाइनलमा नेपालले आज गुजरात क्रिकेट एसोसियसनको टिमसँग खेल्दै छ । यी दुई टिमबीचको फाइनल प्रतिस्पर्धा दिउँसो १ः१५ देखि सुरु हुनेछ ।
नेपाल लिग चरण विजेता र गुजरात उपविजेताको रूपमा फाइनलमा भिड्न लागेका हुन् । नेपालले लिग चरणमा गुजरातलाई दुवै खेल तथा बरोडालाई एक खेलमा हराएको थियो ।
नेपालले उद्घाटन खेलमा गुजरातलाई ८ विकेट र दोस्रो म्याचमा बरोडालाई २७ रनले हरायो ।
तेस्रो म्याचमा गुजरातलाई ८ रनले हराएको नेपाल चौथो खेलमा भने बरोडासँग ३७ रनले स्तब्ध भयो ।
शुक्रबार भएको उक्त खेलमा बरोडाले दिएको १ सय ५७ रनको लक्ष्य पछ्याएको नेपाल १८.५ ओभरमा ११९ रनमै अलआउट भयो ।
नेपाल अब आज बरोडासँगको अप्रत्यासित नतिजा बिर्सिँदै उपाधि जित्न चाहन्छ । आयोजक गुजरात पनि नेपाललाई स्तब्ध बनाउँदै उपाधि जित्ने दाउमा छ ।
उसले लिग चरणमा नेपालसँगको दुवै खेलमा पराजय बेहोर्दा बरोडालाई भने हराएको थियो ।
फाइनलमा तीन परिवर्तनको सम्भावना
नेपालले फाइनलमा प्लेइङ–११ मा तीन खेलाडी परिवर्तन गर्ने सम्भावना छ । आइतबार नेपालले कप्तान रोहितकुमार पौडेल, आसिफ शेख र सोमपाल कामीलाई प्लेइङ–११ मा समावेश गरेर प्रतिश जिसी, आकाश चन्द र विवेककुमार यादवलाई विश्राम दिने सम्भावना रहेको हो ।
फाइनल खेल्ने नेपालको सम्भावित प्लेइङ–११ : आसिफ शेख, कुशल भुर्तेल, अनिलकुमार साह, गुलशन झा, रोहितकुमार पौडेल, कुशल मल्ल, सन्दीप जोरा, दीपेन्द्र सिंह ऐरी, सोमपाल कामी, करण केसी र ललितनारायण राजवंशी ।
फाइनलमा अविनाश बोहरा, प्रतिश जिसी, आकाश चन्द र विवेक यादवले विश्राम पाउने सम्भावना छ ।
टोली भारतबाटै ओमान जाने
फ्रेण्डसिपको फाइनल खेलेपछि नेपाली टोली भारतबाटै ओमान उड्नेछ । प्रिमियर कपमा नेपालले पहिलो खेल १२ अप्रिल अर्थात् यही चैत ३० गते मलेसियाविरुद्ध खेल्नेछ ।
त्यसपछि नेपालले वैशाख १ मा कतार, वैशाख ३ मा हङकङ तथा वैशाख ५ मा साउदी अरेबियासँग खेल्ने तालिका छ ।
प्रतियोगिताको दुवै समूहबाट शीर्ष दुई/दुई टिमले सेमिफाइनलको यात्रा गर्नेछन् । सेमिफाइनल वैशाख ७ तथा फाइनल खेल वैशाख ९ गते हुनेछ ।
प्रतियोगिताको उपाधि जित्ने टोली आउँदो वर्ष हुने टी–२० फरम्याटको एसिया कपमा छनोट हुनेछ ।
नेपाल लगातार दोस्रोपटक एसिया कपमा छनोट हुने योजनामा छ । नेपालले गत संस्करणको प्रिमियर कपको फाइनलमा यूएईलाई हराएर एसिया कपको यात्रा गरेको थियो, जहाँ नेपालले पहिलोपटक भारत र पाकिस्तानसँग खेल्ने मौका पायो ।
नेपाली टिम यसपालि पनि उच्च प्रदर्शन गर्दै प्रिमियर कपको उपाधि रक्षा गर्न पूरा कोसिस गर्नेछ ।
यद्यपि नेपाललाई यसपटक त्यति सहज भने छैन । प्रतियोगिता पनि विदेशी भूमिमा खेलिरहेको र टिमका प्रमुख स्पिनर सन्दीप लामिछाने उपलब्ध नहुने भएकाले नेपाललाई उपाधि रक्षा गर्न सहज नदेखिएको हो ।
समूह चरणमा त्यति चुनौती नभए पनि सेमिफाइनल पार गर्न भने नेपाललाई कठिन हुने सम्भावना छ ।सेमिफाइनलमा समूह ‘बी’ बाट ओमान र यूएईले स्थान बनाउने सम्भावना बलियो छ ।
पछिल्लोपटक यूएईविरुद्ध राम्रो प्रदर्शन गर्दै आए पनि नेपालले ओमानसँग भने जित निकाल्न सकिरहेको छैन ।
गत वर्ष घरेलु मैदानमै भएको विश्वकप छनोट प्रतियोगितामा नेपालले ओमानसँग लगातार दुई खेलमा हार बेहोरेको थियो ।
योपटक ओमानविरुद्ध फाइनल खेल्ने समीकरण बनेमा नेपाललाई गत वर्षको हारको बदला लिने माैका मौका पनि हुनेछ ।