२०८० फागुन १० बिहीवार | Thursday, Feb 22 2024

जोर्डनलाई हराउँदै कतारले उचाल्यो एसीयन कपको उपाधि

एजेन्सी, कतारले एएफसी एसियन कप फूटबल प्रतियोगिताको उपाधि आफ्नो पक्षमा पारेको छ ।

कतारको लुसेल रंगशालामा भएको फाइनलमा जोर्डनलाई ३–१ गोल अन्तरले हराउँदै कतारले उपाधि रक्षा गरेको हो ।

यसअघि सन् २०१९ मा यूएईमा भएको प्रतियोगितामा जापानलाई ३ – १ ले नै हराउदै कतारले पहिलो पटक एसियन कपको उपाधि जितेको थियो ।

हिजोको खेलमा जोर्डनलाई पराजित गर्ने क्रममा कतारका लागि अक्रम अफिफले ह्याट्रिक पूरा गरे ।

उनले सबै गोल पेनाल्टीमार्फत गरेका थिए । प्रतियोगिता अवधिभर ८ गोल गर्दै अफिफ सर्वाधिक गोलकर्ता बनेका छन् ।

साथै उनी प्रतियोगिताका सर्वोत्कृष्ट खेलाडी पनि चुनिए । लगातार दोस्रो उपाधि जित्ने क्रममा कतारले समूह चरणमा लेबनान, ताजिकिस्तान र चीनविरुद्ध जीत निकालेको थियो ।

यस्तै अन्तिम १६ मा प्यालेस्टाइनमाथि २–१ को जीत दर्ता गरेको थियो । क्वार्टरफाइनलमा उज्वेकिस्तानविरुद्ध टाइब्रेकरमा विजयी हुँदा कतारले सेमिफाइनलमा इरानलाई हराएको थियो ।

पहिलो पटक प्रतियोगिताको फाइनलमा पुगेको जोर्डन जीत निकाल्न असमर्थ भएपछि निराश बनेको छ ।