काठमाडौ, लेजेन्ड्स लिग क्रिकेटको उपाधि राष्ट्रिय क्रिकेट टोलीका पूर्वकप्तान पारस खड्कासम्मिलित एसिया लायन्सले जितेको छ ।
गएराति सम्पन्न फाइनलमा खेलमा वर्ल्ड जायन्ट्सलाई ७ विकेटले हराउँदै एसियाले उपाधि जितेको हो ।
फाइनलमा जायन्ट्सले दिएको १४८ रनको लक्ष्य लायन्सले १६.१ ओभरमा ३ विकेट गुमाएर भेट्टायो ।
उसका लागि ओपनरद्वय उपुल थरंगा र तिलकरत्ने दिलशानले अर्धशतीय पारी खेले । ४२ बलको सामना गरेका दिलशानले ८ चौकासहित ५८ रन बनाए ।
त्यस्तै, थरंगाले २८ बलमा पाँच चौका र तीन छक्काको मद्दतमा ५७ रनको पारी खेले । मोहम्मद हफीज र मिस्बाह–उल–हकले अविजित ९/९ रन जोडे । पारसले भने फाइनलमा पनि ब्याटिङमा मौका पाएनन् ।
बलिङमा जायन्ट्सका समित पटेल, ब्रेट ली र मोन्टी पनेसरले एकरएक विकेट लिए । त्यसअघि दोहास्थित वेस्ट एन्ड पार्क अन्तर्राष्ट्रिय क्रिकेट रंगशालामा टस हारेर जितेर ब्याटिङ रोजेको जायन्ट्सले निर्धारित २० ओभरमा ३ विकेट गुमाएर १ सय ४७ रन बनायो ।
उसका लागि ज्याक कालिसले उत्कृष्ट पारी खेले । ५४ बलको सामना गरेका उनले ५ चौका र र ३ छक्कासहित अविजित ७८ रन बनाए ।
त्यस्तै, रस टेलरले ३२ र लेन्डल सिमन्सले १७ रन जोडे । बाँकी ब्याटरले भने दोहोरो अंकमा समेत रन बनाउन सकेनन् । एसियाका लागि अब्दुर रज्जाकले दुई र थिसरा परेराले एक विकेट लिए । पारसले फाइनलमा पनि बलिङमा मौका पाएनन् ।