काठमाडौं, एनएसजेएफ स्पोर्ट्स अवार्ड २०७८ मा कुल ९ विधामा खेलाडी र खेलकर्मी सम्मानित भएका छन् ।
नेपाल खेलकुद पत्रकार मञ्च एनएसजेएफले मंगलबार आयोजना गरेको अवार्ड कार्यक्रममा खेलाडी र खेलकर्मी सम्मानित भएका हुन् ।
एनएसजेएफले वर्ष खेलाडीमा पुरुष तर्फ अन्जन विष्ट र महिलातर्फ अरुणा शाहीलाई सम्मान गरेको छ ।
अन्जनले क्रिकेटरद्धय दीपेन्द्रसिंह ऐरी र कुशल भूर्तेल, ब्याडमिन्टन खेलाडी प्रिन्स दाहाल, र फुटबलर किरणकुमार चेम्जोङलाई पछि पार्दै अवार्ड जित्न सफल भए ।
साफ च्याम्पियनसिपमा नेपाललाई पहिलो पटक फाइनल पुर्याउन अन्जनले उल्लखेनयीय भूमिका खेलेका थिए।
महिलातर्फ भने अरुणाले एथ्लेटिक्सकी पुष्पा भण्डारी, क्रिकेटरद्धय रुविना क्षेत्री र सीता रानामगर तथा बक्सिङकी पुनम रावललाई पछि पारिन । यससँगै अन्जन र अरुणाले पल्सर मोटरसाइकल पनि प्राप्त गरेका छन्।
भलिबलकी उषा भण्डारी पिपल्स च्वाइस अवार्डले सम्मानित भइन्। ईसेवाको भोटिङ, फेसबुक लाइक, प्रमुख प्रशिक्षकको मत तथा मञ्च सदस्यको कुल मतभारको आधारमा सो अवार्डको विजेता छनोट गरिएको थियो। उषाले टेनिसकी अभिलाषा विष्ट, फुटबलर अञ्जन विष्ट, क्रिकेटर आसिफ शेख र पौडीकी डुवाना लामालाई पछि पारिन् ।
मनिष डाँगीलाई युवा खेलाडी अवार्डले सम्मानित गरियो । युवा खेलाडीको मनोनयनमा रहेका फुटबलका प्रिती राई, बक्सिङका छिरिङ वाङ्दी शेर्पा, भलिबलकी उषा भण्डारी र ब्याडमिन्टनकी रसिला महर्जनलाई पछि पार्दैँ मनिषले अवार्ड जिते।
पारा एथ्लिट पलेशा गोवर्धनलाई पारा एथ्लिट अवार्ड प्रदान गरियो। जापानमा सकिएको पाराओलम्पिकमा पलेशाले नेपालको लागि कांस्य पदक जितेकी थिइन्। उनले बहराइनमा भएको एसियन युथ पारा गेम्समा स्वर्ण जितेकी थिइन्।
प्रशिक्षकमा भने फुटबलका अब्दुल्लाह अल्मुताइरी सम्मानित भएका छन्। यस्तै, रघुराज वन्तलाई लाइफटाइम एचिभमेन्ट अवार्डले सम्मानित गरियो ।
ब्याडमिन्टनमा अतुलनीय योगदान पुर्याएका दानबहादुर तामाङ र मायादेवि मोक्तानलाई ‘स्पेसल अवार्ड प्रदान गरिएको थियो । कतारका मोहम्मद हेजीले अन्तर्राष्ट्रिय एसियन खेल पत्रकार अवार्ड प्राप्त गरे।