काठमाडौं, विश्वकप क्रिकेट लिग–२ सिरिजमा नेपालले लगातार पाँचौं जीत हात पारेको छ । सोमबार नेपालले पपुवा न्यूगिनी पीएनजीलाई ४ विकेटले हराएको छ ।
यूएईस्थित दुबई अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा नेपालले २०४ रनको लक्ष्य २८ बल बाँकी रहँदै ६ विकेट क्षतिमा पार गरेको हो ।
नेपालका लागि कुशल भूर्तेलले ५६ रन बनाए । यस्तै आसिफ शेखले ४४ रनमा आउट भए ।
कुशलले ५९ बलमा ५ चौका प्रहार गरेका थिए । आरिफ शेखले ३३, दीपेन्द्र सिंह ऐरीले २२ र रोहित कुमार पौडेलले २० रनको योगदान गरे । कुशल मल्ल १२ रनमा अविजित रहे ।
भूर्तेल र आसिफले पहिलो विकेटका लागि ७६ रनको साझेदारी गर्दै जीतको आधार तयार पारेका थिए । पीएनजीका आसद भालाले ३ विकेट लिए ।
पहिले ब्याटिङ गरेको पीएनजीले पुरै ओभर खेलेर ९ विकेट क्षतिमा २०३ रन बनाएको थियो ।
नेपालका लागि गुल्सन झाले ३, कुशल मल्लले २ तथा करन केसी, सोमपाल कामी र प्रतिश जीसीले १–१ विकेट लिए।
प्रतिशले आज डेब्यु गरेका हुन् । यो जीतसँगै नेपालको २८ अंक भएको छ । अब नेपालले सात खेल खेल्न बाँकी छ । युएईमा तीन खेल खेल्नेछ ।
आगामी बिहीबार नेपाल र युएईबीच प्रतिस्पर्धा हुनेछ ।