२०८२ वैशाख १३ शनिवार | Saturday, Apr 26 2025

यु-१९ विश्वकप छनोटमा नेपालको लगातार दोस्रो जीत, आकाशको ६ विकेट

Untitled
Untitled
Untitled

काठमाडौं, यूएईमा जारी आईसीसी यू–१९ विश्वकप एसिया रिजन छनोटमा नेपालले कुवेतलाई १०० रनमा समेट्दै लगातार दोस्रो जीत निकालेको छ ।

नेपालले दिएको ३४४ रनको विजयी लक्ष्य पछ्याएको कुवेत ३०.५ ओभरमा १०० रनमा सीमित हुँदै अलआउट भयो ।

कुवेतका ओपनर जुडे क्रिस्टोफर सालदानाले सर्वाधिक २६ रन बनाए, अर्का ओपनर हित किशोर भाइ यहिन्सु १६ रन र यासुफ सिद्धिक १९ रन बाहेक अन्य ब्याटरले दोहोरो अंकमा रन बनाउन सकेनन् ।

नेपालका बलर आकाश चन्दले सर्वाधिक ६ विकेट लिए । उनले ९ ओभरमा ४३ रन खर्चिए । हेमन्त धामी र दीपेश कँडेलले २–२ विकेट लिए ।

यसअघि, टस जितेर पहिला ब्याटिङ थालेको नेपालले निर्धारित ५० ओभरमा ७ विकेट गुमाएर ३ सय ४३ रनको योगफल तयार पारेको छ ।

नेपालका लागि कप्तान देव खनालले सर्वाधिक १२५ रनको अविजित इनिङ खेले । उनले १ सय १७ बलमा ९ चौका र तीन छक्का प्रहार गरे ।

ओपनर अर्जुन कुमालले १ सय १२ बल खेल्दै १ सय ८ रन योगदान गर्दा अर्का ओपनर दीपक बोहरा २७ बलमा २ चौकासहित १३ रन बनाएर आउट भए ।

विशाल विक्रम केसी २३ रन र बोहरा १९ रनमा पभेलियन फर्कँदा दीपकप्रसाद डुम्रे २० रनमा अविजित हरे ।

विश्वकप छनोटअन्तर्गत पहिलो खेलमा नेपालले सिंगापुरलाई ९६ रनले पराजित गरेको थियो ।

 

Untitled
Untitled
Untitled