काठमाडौं, विश्वकप लिग–२ क्रिकेटमा नामिबिया स्कटल्याण्डसँग पराजित भएको छ । यो नामिबियाको लगातार चौथो पराजय हो ।
त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा सोमबार स्कटल्याण्डले नामिबियालाई ४३ रनले पराजित गरेको हो। नामिबियाको हारले नेपाल र युएईलाई केही फाइदा पुग्नेछ ।
२२२ रनको लक्ष्य पछ्याएको नामिबिया ३८।४ ओभरमा १७८ रन बनाएर अलआउट भयो । लो–हान्द्रे लुरेन्सले ५२ र कप्तान गेरहार्ड इरास्मसले ४३ रन बनाए पनि टिमलाई जित दिलाउन सकेनन् । स्कटल्यान्डका लागि मार्क वाटले ४ तथा माइकल लिस्कले ३ विकेट लिए ।
पहिले ब्याटिङ गरेको स्कटल्यान्ड ४८।४ ओभरमा २२१ रन बनाएर अलआउट भएको थियो । स्कटल्यान्डका क्रिस्टोफर म्याकब्राइडले ४७ र टमस म्याकिन्टोसले ३४ रन बनाए।
नामिबियाका रुबेन ट्रम्पलम्यानले ५ विकेट लिए । जितपछि स्कटल्याण्डको ५० अंक पुगेको छ । विश्वकप र एकदिवसीय मान्यता बचाउन नेपाल, युएई र नामिबियाबीच मुख्य प्रतिस्पर्धा देखिएको छ ।
नेपालको ९ र नामिबियाको २ खेल बाँकी छ । युएईले भने १० खेल खेल्न बाँकी छ । नेपालले भोलि मंगलबार स्कटल्याण्डसँग प्रतिस्पर्धा गर्नेछ ।