काठमाडौं, विश्वकप क्रिकेट लिग–२ एकदिवसीय क्रिकेट सिरिजमा नेपालले स्कटल्यान्डलाई पराजित गरेको छ।
शुक्रबार कीर्तिपुरको त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा भएको खेलमा नेपालले स्कटल्यान्डलाई ३ विकेटले पराजित गरेको हो।
२७५ रनको लक्ष्य नेपालले ४७ ओभरमा ७ विकेटको क्षतिमा पूरा गर्यो । नेपालका लागि दीपेन्द्र सिंह ऐरीले अविजित ८५ र कुशल मल्लले ८१ रन बनाए।
४६.४ ओभरमा पाएको फ्रि–हिटमा सोमपालले चौका प्रहार गर्दै नेपाललाई जीत दिलाए। सोमपाल २४ रनमा अविजित रहे।
दीपेन्द्रले ७० बलमा ५ चौका र १ छक्का प्रहार गर्दै अर्धशतक पूरा गरे। कुशलले भने ४२ बलमा ६ चौका र ३ छक्का प्रहार गर्दै अर्धशतक पूरा गरे।
एकदिवसीयमा यो कुशलको दोस्रो अर्धशतक हो। सन् २०२० मा कीर्तिपुरमा अमेरिकाविरुद्धको डेब्यु खेलमा कुशलले पहिलो अर्धशतक प्रहार गरेका थिए।
छैटौँ विकेटको लागि कुशल र दीपेन्द्रले ९६ बलमा १०० रनको साभेदारी गरे। गुल्सन झाले १३ रनको योगदान गरे। दोस्रो ओभरमा कुशल भूर्तेल १६ र ज्ञानेन्द्र मल्ल ४ रनमा आउट भएपछि नेपाल दबाबमा आएको थियो।
आसिफ शेख ९, कप्तान रोहित पौडेल ६ र सन्दीप जोरा ५ रनमा आउट हुँदा नेपाललाई लक्ष्य पछ्याउन निकै संघर्ष गर्नुपर्ने देखिएको थियो।
तर, मध्यक्रमका ब्याट्स्म्यान चलेपछि नेपालले बलियो टोलीमाथि जीत निकालेको हो ।
स्कटल्यान्डका लागि क्रिश सोल र मार्क वाटले ३–३ तथा माइकल लिस्कले १ विकेट लिए। पहिले ब्याटिङ गरेको स्कटल्यान्डले पूरै ओभर खेलेर ९ विकेट क्षतिमा २७४ रन बनाएको थियो।
स्कटल्यान्डका लागि माइकल लिस्कले अविजित १०७ रन बनाए । उनले ८५ बलमा ३ चौका र ९ छक्का प्रहार गरेका थिए ।
नेपालका लागि सन्दीप लामिछानेले ३, कुशल मल्लले २ तथा कुशल भूर्तेल,सोमपाल कामी र दीपेन्द्र सिंह ऐरीले १–१ विकेट लिए।