काठमाडौं, नेपाल र भारतको पहिले अन्तर्राष्ट्रिय मैत्रीपूर्ण फुटबल २-२ गोलको रोमाञ्चक बराबरीमा सकिएको छ ।
हारतर्फ गइरहेको बेलामा सावित्रा भण्डारीको दुई गोल मद्दतमा नेपालले भारतलाई रोक्न सफल भएको हो । चेन्नईको जवारलाल नेहेरु स्टेडयममा पहिलो हाफ गोलरहित बराबरीमा सकिएको थियो ।
तर, ५६औं मिनेटमा सौम्याले गोल गर्दै भारतलाई अग्रता दिलाइन भने कप्तान इन्दुमति काथिरेसानले ६८औं मिनेटमा भारतको अग्रता दोब्बर पारेकी थिइन् ।
त्यसपछि नेपाल दबाबमा रह्यो भने भारत जीततर्फ अग्रसर भयो । तर, निर्धारित समयको अन्तिम मिनेटमा सावित्रा भण्डारीले पेनाल्टीमा गोल गर्दै खेललाई २–१ को स्थितीमा ल्याएकी थिइन् ।
खेलको इन्जुरी समयमा साबित्राले व्यक्तिगत दोस्रो गोल गर्दै नेपाललाई हारबाट जोगाइन् । नेपाल र भारतबीचको दोस्रो मैत्रिपूर्ण खेल शनिबार केरलमा हुनेछ ।