काठमाण्डू, नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले १० वर्षे जनयुद्ध र १९ दिने जनआन्दोलनमा नेवाः समुदायले गरेको योगदान अविस्मरणीय रहेको बताएका छन् ।
१२ वर्षे रुद्रायणी मेला समापन कार्यक्रमलाई सम्बोधन गर्दै उनले यही योगदानको फलस्वरुप संविधानमार्फत सबै समुदायको अधिकार एक हदसम्म सुनिश्चित गरेको बताए ।
उनले भने, ‘देशको आर्थिक विकास, सामाजिक सौहार्दता र संस्कृति संरक्षणको क्षेत्रमा मात्रै नभई नेवाः समुदायले देशको राजनीतिक परिवर्तनको लागि पनि ऐतिहासिक भूमिका निर्वाह गर्दै आइरहेको इतिहास छ ।
खासगरी १० वर्षे जनयुद्ध र १९ दिने जनआन्दोलनमा नेवाः समुदायले गरेको योगदान अविस्मरणीय छ ।
यही योगदानको फलस्वरुप हामीले संविधानमार्फत सबै जाति, क्षेत्र, लिंग, भाषी समुदायको अधिकार एक हदसम्म सुनिश्चित गरेका छौं ।’
अध्यक्ष दाहालले सुशासन, सामाजिक न्याय र समृद्धि हुँदै जनताले देखेको समाजवादको सपना पूरा गर्नुपर्ने बताए ।