काठमाण्डू, काठमाडौँ उपत्यकाको पानीमा मापदण्डभन्दा बढी आर्सेनिक भेटिएको छ । काठमाडौँ उपत्यकाको दक्षिण–पूर्वी क्षेत्रको पानीमा आर्सेनिकको मात्रा बढी भेटिएको खानेपानी मन्त्रालयले जनाएको छ ।
मन्त्रालयका सहसचिव कृष्णप्रसाद आचार्यले यसअघि प्रायः तराईका जिल्लाको पानीमा निर्धारित मापदण्डभन्दा बढी भेटिने आर्सेनिक काठमाडौँ उपत्यकामा समेत भेटिएको जानकारी दिए ।
उनका अनुसार उपत्यकामा ललितपुरको इमाडोल, टीकाथली, बाँझेपोखरी, सानेपा, काठमाडौँको बल्खु, स्युचाटार र भक्तपुरको बालकोट क्षेत्रको पानीमा मापदण्डभन्दा बढी आर्सेनिक भेटिएको हो ।
काठमाडौँको अन्य क्षेत्रको पानीमा अहिलेसम्म मापदण्डभन्दा बढी आर्सेनिक नभेटिएको उनले स्पष्ट पारे ।
सहसचिव आचार्यले काठमाडौँको पानीमा न्यूनतम एकदेखि अधिकतम दुई सय पिपिबीसम्म आर्सेनिकको मात्रा भेटिएको जानकारी दिए ।
उनले भने , “राष्ट्रिय खानेपानी गुणस्तर मापदण्ड अनुसार खानेपानीमा आर्सेनिकको मात्रा प्रतिलिटर पचास पिपिबीसम्म हुनु पर्छ ।
विश्व स्वास्थ्य सङ्गठनले खानेपानीमा आर्सेनिकको मात्रा प्रति लिटर दस पीपीबीसम्म निर्धारण गरेको छ ।”
उनले भने , “तराईको स्यालो ट्युबवेलको पानीमा आर्सेनिकको मात्रा बढी भेटिए पनि काठमाडाँैको ‘डिप ट्युबवेल’ मा आर्सेनिकको मात्रा मापदण्डभन्दा बढी भेटिएको हो ।”
उनले यी क्षेत्रका स्यालो ट्युबवेल र ‘डिप ट्युबवेल’ को पानी परीक्षणका क्रममा पानीमा आर्सेनिकको मात्रा बढी पाइएको जानकारी दिए ।
उनका अनुसार यी क्षेत्रको पानीको परीक्षण पहिला विभिन्न प्रयोगशालामा गर्दा आर्सेनिक भेटिएपछि त्यसको पुनः प्रमाणीकरणका लागि पानीपोखरीस्थित केन्द्रीय पानी प्रयोगशालामा परीक्षण गरिएको थियो ।
त्यहाँ पनि परीक्षणका क्रममा निर्धारित मापदण्डभन्दा बढी आर्सेनिक रहेको प्रमाणित भएको थियो ।
डिप ट्युबवेल’ को पानी नखान आर्सेनिक भेटिएको क्षेत्रमा सचेतना फैलाइएको सहसचिव आचार्यले जानकारी दिए ।
उनले भने , “मापदण्डभन्दा बढी आर्सेनिक भएको पानी पिउने प्रयोजनका लागि प्रयोग गर्न मिल्दैन् ।
तर, नुहाइधुवाइ, सरसफाइलगायतको प्रयोजनका लागि प्रयोग गर्न मिल्छ ।” संयुक्त राज्य अमेरिकाको ‘इपीआई स्ट्यान्डर्ड’ ले समेत दुई सय पीपीबीसम्म आर्सेनिक भएको पानीले नुहाइधुवाइ गरेमा केही असर नगर्ने निर्धारण गरेको उनको भनाइ छ ।
सहसचिव आचार्यका अनुसार तराईको ट्युबवेलको पानीमा प्रति लिटर १४ सय पीपीबीसम्म आर्सेनिक भेटिएको छ ।
नवलपरासी पश्चिमका २७ प्रतिशत ट्युबवेलको पानीमा मापदण्डभन्दा बढी आर्सेनिक भेटिएको हो ।
मधेश प्रदेशका सात जिल्लामध्ये महोत्तरीमा आर्सेनिक नभेटिएको उनले जानकारी दिए ।
रौतहट, नवलपरासी, बर्दिया र कैलालीको पानीमा बढी आर्सेनिक भेटिएको हो । उनले भूमिगत पानीमा मात्र आर्सेनिक पाइने बताउँदै सतहको पानी, खोलाको पानी र मूलको पानीमा आर्सेनिक नहुने स्पष्ट पारे ।