नवलपरासी, नवलपरासी पूर्वमा सेप्टिक ट्यांकीमा निसास्सिएर तीन जनाको मृत्यु भएको छ ।
शुक्रबार विनय त्रिवेणी गाउँपालिका-७ मा निर्माणाधीन घरको ट्वाइलेटको सेप्टिक ट्यांकीमा निसास्सिएर तीन जनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय नवलपुरले जनाएको छ ।
मृत्यु हुनेमा घर धनीका छोरा ३८ वर्षीय प्रकाशसिंह क्षेत्री, १९ वर्षीय गणेश बोगटी र नवलपरासी (पश्चिम) बर्दघाट नगरपालिका-७ का २८ वर्षीय मोहम्द राजा छन् ।
शुक्रबार बिहान ११ बजेतिर उनीहरू वडा नम्बर-७ का भोलासिंह क्षेत्रीको सेप्टिक ट्यांकी निर्माण गर्ने क्रममा त्यहीभित्र बेहोस भएका थिए ।
उपचारको क्रममा तीनै जनाको मृत्यु भएको हो । घटनामा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।