सोलू, सोलुखुम्बूका प्रमुख जिल्ला अधिकारी देवी पाण्डे (खत्री)ले थामे क्षेत्रमा बाढीको जोखिम अझै रहेको बताएका छन् ।
शुक्रबार दुईवटा हिमताल फुट्दा बाढी आएको पुष्टि गर्दै उनले सो क्षेत्रमा बाढीको जोखिम अझै रहेको बताएका छन् ।
“आज क्षतिग्रस्त थामे क्षेत्रको रक्षामन्त्री मानवीर राई र राष्ट्रिय विपद् जोखिम न्यूनीकरण व्यवस्थापन प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत अनिल पोखरेलसहितको टोलीले हवाई निरीक्षण गर्नुभयो”, उनले भने, “निरीक्षणपछि हिजो दुईवटा हिमताल फुटेकाले बाढी आएको पुष्टि भएको छ । सो क्षेत्रमा बाढीको जोखिम कायमै छ ।”
जोखिममा रहेका भनिएका हिमताल जोगाउन सक्ने सम्भावना कम रहेको विपद् व्यवस्थापन समितिले जनाएको छ ।
“थामेभन्दा माथिपट्टि पाँचवटा हिमताल रहेछन्, शुक्रबार दुईवटा विस्फोटपछि बाढी आएको पुष्टि भयो”, प्रमुख जिल्ला अधिकारी खत्रीले भने, “बाँकी तीनमध्ये एउटा सुरक्षित रहेको र दुईवटा जोखिम रहेको जानकारी प्राप्त भएको छ ।”
खुम्बुसहित तल्लो सोलुमा बाढीको उच्च जोखिम रहेकाले सो क्षेत्रमा उच्च सावधानी अपनाउन आग्रह गरिएको उनले बताए ।
जल तथा मौमस विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले जलवायु परिवर्तन र बढ्दो तापक्रमका कारण हिमताल विस्फोट भएको हुनसक्ने बताएको छ ।
विभागका अनुसार थामे क्षेत्रमा साउन २५ गतेदेखि दैनिक औसत तापक्रम बढेको थियो । सो दिनयता तापक्रम नौ दशमव सात डिग्री सेल्सियसबाट ११ डिग्री सेल्सियस पुगेको विभागले जनाएको छ ।
शुक्रबार भने तापक्रम बढेर १५ दशमलव नौ डिग्री सेल्सियस पुगेको थियो । निरन्तरको वर्षा र तापक्रममा भएको वृद्धिले हिमपहिरो गएको विभागको बुझाइ छ ।
जलवायु जानकार राजन थापाले हिमाली क्षेत्रमा तापक्रम अस्वाभाविक रूपमा बढ्दै जाँदा हिमतालहरू जोखिममा रहेको बताए ।
उनले भने, “थामेमा मात्र होइन तापक्रम बढ्दै जाँदा सगरमाथा क्षेत्रका अन्य हिमताल पनि जोखिममा छन्, हिमालमा हिउँ पग्लिने क्रम बढेको छ, यसले हिमाली बस्तीलाई जोखिममा पारेको छ ।”