विराटनगर, नेपाली कांग्रेसका वरिष्ठ नेता डा. शेखर कोइरालाले सर्वसहमतिमा नै संविधान संशोधन गर्नुपर्ने बताएका छन् ।
संविधान संशोधनका लागि जनमत संग्रह जस्तो जटिल प्रक्रियामा जानुको सट्टा संसदीय विशेष समिति वा आयोग बनाएर गर्न सकिने उनको तर्क छ ।
शुक्रबार मोरङको बुढीगंगा गाँउपालिका-७ डंग्राहामा आयोजित स्वास्थ्य शिविर कार्यक्रममा सञ्चारकर्मीसँग कुरा गर्दै डा. कोइरालाले कांग्रेस/एमालेको करिब दुई तिहाइ बहुमत रहेपनि सबैको सहमतिमा नै संविधान संशोधन गर्नुपर्ने बताए ।
डा. कोइरालाले दुई दलमात्रै मिलेर संविधान संशोधन गर्न खोजे अवस्था झन् जटिल हुने उल्लेख गरे ।
भ्रष्टाचार छानबिनमा हदम्याद तोक्न नहुने र अख्तियारलाई बढी शक्तिशाली बनाउने नाममा निजी क्षेत्रको क्षेत्राधिकार दिन नहुने उनको जिकिर छ ।
नोना कोइराला स्मृति प्रतिष्ठान र केएचडीसी नेपालले प्राविधिक सहयोगमा बूढीगंगा गाँउपालिकाले मिर्गौला, मुटु तथा मधुमेह सम्बन्धी नि:शुल्क स्वास्थ्य शिविर आयोजना गरेको हो ।
नेता डा. कोइरालाले बिरामी जाँच गर्दै नि: शुल्क स्वास्थ्य शिविरको शुभारम्भ समेत गरेका थिए ।