२०८१ मंसिर १७ सोमवार | Monday, Dec 02 2024

“नेपालको परिचय भनेको यहाँका साँस्कृतिक सम्पदाहरु नै हुनः” उपसभामुख राना

Untitled
Untitled
Untitled

काठमाडौं । संघीय संसदकी उपसभामुख माननीय इन्दिरा रानाले नेपालको परिचय र पहिचान भनेको यहाँको साँस्कृतिक सम्पदाहरु नै भएको विचार ब्यक्त गरिन ।

‘साँस्कृतिक संग्राहालयको रुपमा रहेका नेपालको हरेक जातजाति, भाषाभाषि तथा यहाँका साँस्कृतिक सम्पदाहरुले मात्रै देशको खास पहिचान विश्वसामु पुर्याउन सक्छन्’ उपसभामुख रानाले भनिन् ।

सांस्कृतिक कला विकास समूह नेपालद्धारा आयोजित विशेष सम्मान कार्यक्रममा विविध साँस्कृतिक कार्यक्रमको अवलोकन पश्चात नेपालका प्रथम नृत्य निर्देशक भैरवबहादुर थापालाई अभिनन्दन गर्दै उपसभामुख रानाले उक्त विचार ब्यक्त गरेकी हुन् ।

गीत, संगीत र नृत्यमा मात्र होइन विभिन्न मित्रराष्ट्रहरुसँग सांस्कृतिक सम्बन्ध स्थापीत गराउने जस्तो महत्वपूर्ण कामका लागि भैरवबहादुर थापाले गर्नुभएको योगदानको चर्चा गर्दै उपसभामुख रानाले ‘साँस्कृतिक रुपमा चीन र भारतसँगको सम्बन्ध जस्तै विश्वका विभिन्न मुलुकको भ्रमण गरि नेपाल र नेपालीको साँस्कृतिक पहिचानलाई विश्व सामु पुर्याउने युगपुरुष भैरवबहादुर थापालाई राज्यले उचित सम्मान गर्नु पर्ने कुरामा जोड दिइन ।’

साँस्कृतिक सम्बन्धलाई सुमधुर बनाउँदै छिमेकीहरुलाई एकताको सुत्रमा मित्रतायुक्त बनाउन थापाको महत्वपूर्ण योगदान रहेको प्रति नेपालीहरुले गर्व गर्नुपर्ने उनको धारणा थियो ।

विगतमा भएको प्राकृतिक प्रकोपको स्मरण गर्दै उपसभामुख रानाले बाढी पहिरो र कोरोना प्रकोप जस्ता महामारीमा आफुले सक्रियतापूर्वक सामाजिक सेवामा निरन्तर लागेको बताईन । आफू राजनीतिमा लागेको भए पनि गाउँका गरिब दुःखी र असहायको सेवामा निरन्तर लागि रहने उनले बताईन ।

नेपालका पहिलो नृत्य निर्देशक तथा बयोबृद्ध नृत्यकार भैरवबहादुर थापाले उपसभामुख जस्तो गरिमामय पदमा रहेको ब्यक्ती तथा महिलाबाट सम्मानीत हुन पाउँदा अत्यन्तै खुशि लागेको बताए ।

यो देशमा छुट्टै साँस्कृतिक मन्त्रालय हुनु जरुरी छ । जसले गर्दा हामीले पर्यटकहरुको दास भएर गुलाम हुन नपरोस उनको भनाई थियो ।

थापाका अनुसार ‘साँस्कृतिक सम्बन्धले मात्र विश्वलाई एकताको सुत्रमा भाइभाईको सम्बन्ध स्थापीत गर्न सक्नेछ ।’

विशेष सम्मान कार्यक्रममा सांस्कृतिक कला विकास समूह नेपालका अध्यक्ष दीलबहादुर कटुवालले विगत चौधबर्ष अघि स्थापना भएको संस्थाले हरेक बर्ष देशका लब्धप्रतिष्ठित ब्यक्ती तथा सामाजिक क्षेत्रमा उल्लेखनीय योगदान पुर्याउँदै आएका विशेष नागरिकहरुलाई सम्मान गर्दै अभिनन्दन गर्ने कार्यक्रम अनुसार यस बर्ष समेत बयोबृद्ध सांगीतिक ब्यक्तिलाई सम्मान गर्न पाउँदा आफुले गर्व गरेको बताए ।

कार्यक्रममा विभिन्न कलाकारहरुद्धारा साँगीतिक कार्यक्रम नृत्य तथा गायन प्रस्तुत गरेका थिए । यसै वीच संस्थाले समाजका विभिन्न क्षेत्रमा रहेर विशेष योगदान पुर्याउने प्रतिष्ठित ब्यक्तीहरुलाई समेत सम्मान र अभिनन्दन गरेको थियो ।

कार्यक्रममा पञ्चे बाजा सहितका स्थानीय कलाकारहरुले लोक सँस्कृतिको संरक्षण प्रवद्र्धनमा योगदान पुर्याउने किसिमका साँस्कृतिक संगीत प्रदर्शन गरेका थिए ।

पत्रकार ओझा सम्मानित


यसैवीच कार्यक्रममा नेपाली पत्रकारिता क्षेत्रमा लामो समय कार्यरत लोकतान्त्रिक पत्रकार मञ्चका केन्द्रीय महासचिव एवं सञ्चारग्राम अनलाईन मिडियाका सम्पादक कुमारप्रसाद ओझालाई सम्मान सहित अभिनन्दन गरिएको छ ।

पाँचथर जिल्लामा जन्मिएका पत्रकार ओझा विगत बाह्रबर्ष अघिदेखि आफ्नो कार्यक्षेत्र काठमाडौं बनाएर पत्रकारिता र विभिन्न सामाजिक संघ–संस्थामा आवद्ध भई समाजसेवामा क्रियाशिल रहेका छन् ।

नेपाली पत्रकारितामा विकास र खोजपत्रकारिता तथा विभिन्न साँस्कृतिक सम्पदाहरुको संरक्षण र प्रवद्र्धनको कार्यमा कलम चलाउँदै सामाजिक कार्यमा समेत सक्रिय पत्रकार ओझालाई उपसभामुख इन्दिरा रानाले अभिनन्दन गरेकी हुन ।

 

Untitled
Untitled
Untitled