काठमाण्डू, आज बिहानैदेखि देशका केही स्थानमा वर्षा भइरहेको छ ।
जल तथा मौसम विज्ञान विभाग, पूर्वानुमान महाशाखाका अनुसार आज बिहान कोशी, मधेश, वागमती र गण्डकी प्रदेशको केही तथा लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका थोरै स्थानमा हल्कादेखि मध्यम वर्षा भइरहेको हो ।
आज दिउँसो सबै प्रदेशका धेरै स्थानमा चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ ।
कोशी, मधेश, वागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका एक/दुई स्थानमा भारी वर्षाको सम्भावना छ ।
कोशी, वागमती, गण्डकी र लुम्बिनी प्रदेशका एक/दुई स्थानमा धेरै भारी वर्षाको पनि सम्भावना रहेको महाशाखाले जनाएको छ ।
राति देशभर साधरणतया बदली रहने छ । सबै प्रदेशका धेरै स्थानमा चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ ।
सबै प्रदेशका थोरै स्थानमा भारी देखि धेरै भारी वर्षाको सम्भावना छ । बागमती, गण्डकी, लुम्बिनी प्रदेशका एक/दुई स्थानमा अति भारी वर्षाको अनुमान गरिएको छ ।
वर्षाका कारण हुनसक्ने गेग्रान बहाव, बाढी, पहिरो तथा भू–क्षय जस्ता प्रकोपको जोखिम वा क्षतिबाट बच्न सतर्कता अपनाउन महाशाखाले आग्रह गरेको छ ।