२०८१ माघ ४ शुक्रवार | Friday, Jan 17 2025

आज साउन १५, खीर खाएर मनाइँदै

Untitled
Untitled
Untitled

काठमाण्डू, आज साउन १५ अर्थात् खीर खाने दिन । वर्षा ऋतुका बेला असार १५ गते दहीच्युरा र साउन १५ मा खीर खाने प्राचीन कालदेखिको नेपाली परम्परा अनुसार आज खीर आएर मनाइँदै आएको छ ।

साउने झरी पर्ने बेलामा तातो खीरले स्वास्थ्यलाई राम्रो गर्ने भएकाले खीर खाने चलन छ ।

दूधमा मरमसलालगायत चीजबीच हालेर बनाइने खीरले स्वास्थ्यमा राम्रो गर्ने भएकाले यसको परम्परा बसेको विश्वास गरिन्छ ।

साउनमा गाउँघरमा पनि खेतिपातीको काम सकिन्छ । हरियाली बढी हुने भएकाले घाँस बढी पाइन्छ ।

राम्रा धेरै घाँस पाइने बेलामा गाई, भैँसीले पनि धेरै दूध दिन्छन् । दूध धेरै भएपछि इष्टमित्र, चेलीबेटीलाई घरमा बोलाएर खीर खाने चलन चलेको हो ।

साउन भगवान् शिवको महिना हो । शिवलाई दूध र दूधमा बनेका परिकार मनपर्ने भएकाले खीरलगायत मिठाइ विधिपूर्वक चढाइन्छ ।

यसैले गर्दा साउनको मध्य पारेर खीर खाने प्रचलन चलेको हुनसक्ने संस्कृतिका जानकार बताउँछन् ।

ऋषिमुनिको पालादेखि नै श्राद्धलगायत पितृ कार्यमा निमन्त्रणा गरिएका ब्राम्हणलाई पायस अर्थात् खीर खुवाउने गरिएको थियो ।

अहिले पनि वैदिक सनातन धर्मावलम्बीले श्राद्धका दिन अनिवार्य रुपमा गाईको दूधमा पायस अर्थात् खीर बनाउँछन् ।

चामल, सावधाना, सेवइ, मकै, गाजरलगायतको खीर बनाउने गरिन्छ । सावधानालाई फलफूलकै वर्गमा राखिन्छ ।

यसैगरी साउन महिनामा हरियो मकै धेरै पाइने भएकाले मकैको खीरसमेत बनाएर खाने चलन छ । खीर खाँदा देवतालाई चढाएर खानुपर्छ भन्ने धार्मिक विश्वास रही आएको छ ।

 

Untitled
Untitled
Untitled