काठमाण्डू, प्रधानमन्त्री केपी ओलीले नेपाल साहित्यकारहरूको गन्तव्य मुलुक भएको उल्लेख गर्दै राज्यले कला, संस्कृति र साहित्य क्षेत्रबाट समाज निर्माण गर्न लागि परेका व्यक्तिहरूलाई उचित सम्मान र संरक्षण गर्नुपर्ने बताए ।
शनिबार राजधानीमा आयोजित साहित्यकार नेत्रप्रसाद गौतमका ‘मेरो इतिवृति’, ‘नेत्रसरका तीन खण्डकाव्य’ र ‘भूत पिसाच’ नामक कृतिहरूको विमोचन प्रधानमन्त्री ओलीले विमोचन गर्दै सो कुरा बताएका हुन् ।
लेखक, कवि एवम् साहित्यकार गौतमका तीनवटा कृतिहरू एकसाथ विमोचन गरिएका हुन् ।
साहित्यकार गौतमका शनिबार सार्वजनिक गरिएका तीनवटै कृतिहरुभित्र ६ वटा विभिन्न विषयसँग सम्बन्धित विषयहरू उल्लेख गरिएका छन् ।
नेपालमा महाकवि लक्ष्मीप्रसाद देवकोटा र आदिकवि भानुभक्त आचार्य जस्तासाहित्यकार जन्मिएको उल्लेख गर्दै प्रधानमन्त्री ओलीले उनीहरूको विरासत नयाँ पुस्ताका साहित्यकारहरूले सम्हाल्नुपर्ने बताए ।
उनले भने, ‘समाज तथा राज्यले कला, संस्कृति र साहित्य क्षेत्रबाट योगदान दिने स्रष्टाहरूलाई उचित सम्मान र संरक्षण गर्नुपर्दछ ।’
‘हाम्रो देश साहित्यकारहरुको गन्तव्य मुलुक हो । भानुभक्त आचार्य, मोतिराम भट्ट, लेखनाथ पौडेल र बालकृष्ण सम जस्ता साहित्यकारहरू र महाकवि लक्ष्मीप्रसाद देवकोटा जस्ता साहित्यकार जन्माउने देश हो ।
नेपालमा एक जनाले भन्नुभएको थियो । भारतका तीन जना साहित्यकार जोड्यो भने बल्ल लक्ष्मीप्रसाद जस्ता सात्यिकार जन्मन्छन् भनेर ।
अबको पुस्ताले उहाँको विरासत सम्हालनुपर्छ,’ उनले भने ।