विराटनगर, नेकपा माओवादी केन्द्र कोशी प्रदेश संसदीय दलको बैठक आज दिउँसो ३ बजे बस्ने भएको छ ।
कोशी प्रदेश सरकारको विषयमा छलफल गर्न संसदीय दलको बैठक बस्न लागेको हो ।
नेपाली कांग्रेस र नेकपा एमालेबिच केन्द्रमा गठबन्धन बनेपछि कोशी प्रदेशमा पनि सोही अनुसार राजनीति अघि बढ्ने अवस्था रहेकोले त्यस विषयमा संसदीय दलको बैठकमा छलफल हुने नेकपा माओवादी केन्द्र संसदीय दलले जनाएको छ ।
संसदीय दलको बैठकले सरकारमा सहभागी मन्त्रीहरुलाई राजीनामा गर्न निर्देशन गर्ने सम्भावना छ ।
बैठकपछि आजै माओवादीका मन्त्रीहरुले राजीनामा गर्ने एक जना मन्त्रीले जानकारी दिनुभयो ।
नेकपा माओवादी केन्द्र कोशी प्रदेश संसदीय दलका नेता इन्द्रबहादुर आङ्बोले आज संसदीय दलको बैठक बस्ने र सरकारको विषयमा छलफल गर्ने जानकारी दिए ।
उनले बैठकपछि निर्णय सार्वजनिक गर्ने जानकारी दिए । आज हाम्रो दलको बैठक बस्छ र त्यसले गर्ने निर्णय त्यसपछि सार्वजनिक गर्छौं, उनले भने ।
कोशी प्रदेशमा नेकपा माओवादीबाट तीन जना मन्त्री र एक जना राज्यमन्त्री सरकारमा सहभागी छन् ।
संविधानको धारा १६८ को उपधारा ५ बमोजिम नेकपा एमालेका ३९ जना र नेकपा माओवादीका १३ जना सांसदको समर्थनमा गत वैशाख २७ गते एमाले संसदीय दलका नेता हिक्मतकुमार कार्की मुख्यमन्त्री नियुक्त भएका थिए ।
पछिल्लो गठबन्धनमा कोशी प्रदेश सरकारको मुख्यमन्त्री नेकपा एमालेले नै पाउने सहमति भएको छ ।
नेकपा माओवादी केन्द्र सरकारबाट बाहिरिएपछि मुख्यमन्त्री कार्कीले नेपाली कांग्रेसलाई सरकारमा सहभागी गराउने छन् ।