वुटवल, नेपाली कांग्रेसले दलका प्रमुख सचेतक जन्मजय तिमिल्सिनाको नेतृत्वमा लुम्बिनी सरकारमा सहभागीता जनाउने भएको छ ।
लुम्बिनी सरकारमा नेपाली कांग्रेसले ५ जना मन्त्रीलाई पठाउन लागेको हो ।
लामो छलफलपछि कांग्रेसले बर्दियाका जन्मजय तिमिल्सिना, गुल्मीका धनेन्द्र कार्की, प्यूठानका सरोज थापा, दाङका प्रचण्डविक्रम न्यौपाने, बाँकेका बादशाह कुर्मीलाई मन्त्री बनाउने निर्णय गरेको हो ।
लुम्बिनीमा कांग्रेसको सहयोगमा एमालेका चेतनारायण आचार्य सोमबार नै मुख्यमन्त्री नियुक्त भइसकेका छन् ।
दुवै दलले मन्त्री छान्न ढिलाइ गरेपछि आचार्यले २ दिनपछि आज मात्र सपथ लिन लागेका छन् ।
एमालेले पनि ४ मन्त्रीको नाम टुंगो लगाएको छ । मन्त्रीको नाम टुंगो लागे पनि कुन मन्त्रालय लिने भन्ने विषयमा दुई दल अझै निष्कर्षमा पुग्न नसकेकाले सबै मन्त्रीले बिनाविभागीय मन्त्रीका रुपमा शपथ लिने भएका छन् ।
मुख्यमन्त्री अचार्यले भोलिसम्ममा सबै मन्त्रीलाई मन्त्रालयको जिम्मेवारी दिइने बताए ।
कांग्रेसबाट अहिले मन्त्री बनाइएका मध्ये सरोज थापा मात्रै यसअघि मन्त्री बनेका हुन् अरु सबै नयाँ अनुहार हुन् ।