काठमाण्डू, प्रधानमन्त्री केपी ओलीले पद तथा गोपनीयताको शपथ सोमबार बिहान लिने भएका छन् ।
उनले राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष सोमबार बिहान ११ बजे शपथ लिने विशेष कार्यक्रम रहेको राष्ट्रपति कार्यालयले जानकारी दिएको छ।
राष्ट्रपति कार्यालयले प्रधानमन्त्रीको शपथमा उपस्थित हुने सांसदलाई सोमबार बिहान साढे १० बजेभित्र शीतल निवास प्रवेश गरिसक्न अनुरोध गरेको छ।
राष्ट्रपति कार्यालयका सहसचिव शैलजा रेग्मी भट्टराईले असार ३१ गते बिहान ११ बजे हुने शपथ समारोहमा उपस्थित हुन सङ्घीय संसद्का सम्पूर्ण सदस्यलाई निमन्त्रण गरेका छन् ।
राष्ट्रपति रामचन्द्र पौडेलले आइतबार साँझ प्रतिनिधिसभाका सदस्य ओलीलाई प्रधानमन्त्री पदमा नियुक्त गरेपछि शपथ समारोह तय भएको हो।
शुक्रबार (असार २८ गते) नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहालले प्रधानमन्त्रीको रुपमा सदनबाट विश्वास गुमाएपछि नेकपा (एमाले)का अध्यक्ष एवम् संसदीय दलका नेता ओली प्रधानमन्त्री बनेका हुन् ।