२०८१ माघ ४ शुक्रवार | Friday, Jan 17 2025

जनतामा आशाको सञ्चार जागृत गर्न नयाँ सत्तासमीकरण : सचिव भट्टराई

Untitled
Untitled
Untitled

काठमाण्डू, नेपाल कम्युनिष्ट पार्टी ( एमाले ) का सचिव योगेश भट्टराईले मुलुकलाई सधैं प्रयोगशाला बनाउने खेलको अन्त्य गरी जनतामा आशाको सञ्चार जागृत गर्नका लागि नयाँ सत्तासमीकरण गरिएको स्पष्ट गरेका छन् ।

प्रतिनिधिसभाको आजको बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहालद्वारा प्रस्तुत विश्वासको मतमाथिको छलफलमा आफ्नो दलका तर्फबाट भाग लिँदै उनले मुलुकमा ठूला दलको अग्रसरतामै गणतन्त्रको स्थापना र संविधान निर्माण भएकाले जनता निराशामा रहेका बेला फेरि दुई ठूला दल मिलेर राष्ट्रिय विकास र सहमतिको यात्रा आरम्भ गरिएको बताए ।

प्रधानमन्त्री दाहालको विश्वासको मतका विपक्षमा एमालेले मत दिने जनाउँदै उनले अब बलियो, प्रभावकारी सरकारमार्फत विकासको गतिलाई तीव्रता र अग्रगमनका लागि संविधान संशोधनका कार्यसूचीका आधारमा नयाँ बन्ने सरकारले काम गर्ने बताए ।

नेपालको लोकतान्त्रिक आन्दोलनमा नेपाली कांग्रेस, नेपाल कम्युनिष्ट पार्टी ( एमाले ) र नेकपा ( माओवादी केन्द्र ) लगायत दलको सहभागिता र योगदान रहेको स्थितिमा माओवादीको मात्रै योगदान थियो भनिनु गलत हुने नेता भट्टराईको तर्क थियो ।

उनले संविधान संशोधनका लागि माओवादी केन्द्रलाई पनि सँगै लिएर जाने कांग्रेस र एमालेको सोच रहेको अवगत गराए ।

प्रधानमन्त्री दाहालले सदनमा प्रस्ताव प्रस्तुत गर्ने क्रममा आक्रोश र झूट व्यक्त गरेको आरोप लगाउँदै सांसद भट्टराईले जननेता मदनकुमार भण्डारीले अघि सारेको ‘जनताको बहुदलीय जनवाद’को जगमा अहिलेको संविधान र सार्वभौम संसद् सञ्चालित भइरहेको बताए ।

एमाले वामपन्थी दलको सहकार्य र एकताका पक्षमा रहे पनि माओवादी केन्द्र समय अनुकूल गठबन्धन बनाउने र भत्काउने खेलमा लागेको उनले टिप्पणी गरे ।

कतिपटक विश्वास र अविश्वासको प्रस्तावमा छलफल गर्ने भन्ने प्रश्न गर्दै उनले संविधानको कार्यान्वयन, लोकतन्त्रलाई सुदृढीकरणसहित नेपालको अन्तर्राष्ट्रिय छवि र अर्थतन्त्रलाई उकासेर युवाको भविष्यलाई मुलुकभित्र सुनिश्चित गर्नेलगायतका प्राथमिकताका आधारमा दुई ठूला दलबीचको नयाँ समीकरण बनेको स्पष्ट गरे ।

एमाले नेता एवं सांसद भट्टराईले प्रधानमन्त्रीका आक्रोशपूर्ण अभिव्यक्तिको जवाफ पछिसम्म उनले दिइरहनुपर्ने जिकिर गर्दै तीन–तीनपटक मुलुकको प्रधानमन्त्री हुँदा यिनै ठूला दलको साथ रहेको स्मरण गराए ।

Untitled
Untitled
Untitled