२०८१ वैशाख १३ बिहीवार | Thursday, Apr 25 2024

अवरुद्द संसद चलाउनका लागि सभामुख घिमिरे जुटे दलका प्रमुख सचेतक र सचेतकसँगको छलफलमा

काठमाडौँ, प्रतिनिधिसभा बैठक सुचारु ढंगले अघि बढाउन सभामुख देवराज घिमिरेले विभिन्न दलका प्रमुख सचेतक र सचेतकसँग छलफल अघि बढाएका छन् ।

शुक्रवार प्रतिनिधिसभा सत्तापक्ष र विपक्षी दलका सांसदहरूको भनाभनका कारण प्रभावित भएपछि सभामुखले संवाद अघि बढाएका हुन् ।

बिहान ११ बजे बसेको बैठकमा दलका सांसदहरूबिच विवाद उत्पन्न भएपछि घिमिरेले १५ मिनेटका लागि भनेर बैठक स्थगित गरेको डेढ घण्टा बित्दा पनि बैठक सुरु हुन सकेको छैन ।

बैठक सहज रूपमा अघि बढाउनका लागि सभामुखको कार्यकक्षमा दलका प्रमुख सचेतक र सचेतकसँग सभामुखले छलफल गरिरहेको विज्ञ शेखर अधिकारीले जानकारी दिए ।

बैठकमा एमालेले गत पुस १३ गते बालकुमारीमा २ युवा प्रहरीको गोलीबाट मारिएको घटनामा भौतिक पूर्वाधार मन्त्री प्रकाश ज्वालाको राजीनामा माग गरेको छ । साथै सो छानबिन प्रतिवेदन सार्वजनिक गर्न पनि माग गरेको छ ।

यस्तै अख्तियारले बयान लिएका स्वास्थ्य मन्त्री मोहन बस्नेत र रामग्राम निजी कम्पनीलाई दिने प्रक्रियामा पर्यटन मन्त्री सुदन किरातीको संलग्नता रहेको भन्दै उनीहरूलाई पनि सरकारबाट हटाउन माग गर्दै आएको छ ।

प्रतिपक्षी दलले राखेको माग सरकारले सम्बोधन नगर्दा संसदमा गतिरोध उत्पन्न भएको छ ।