२०८० फागुन १० बिहीवार | Thursday, Feb 22 2024

प्रदेशको पुनःनामकरण गर्न कोशी प्रदेश सरकार सहमत

विराटनगर, कोशी प्रदेश सरकार प्रदेशको पुनः नामाकरण गर्न सहमत भएको छ ।

सरकारी वार्ता समिति र पहिचान पक्षधर वार्ता समितिबीच प्रदेशको पुनः नामकरणका लागि राजनीतिक वातावरण तयार पार्नेलगायतको पाँच बुँदे सहमति भएको हो ।

शुक्रबार विराटनगरस्थित एक होटलमा गरिएको सहमतिमा पहिचान पक्षधरले निषेधको आन्दोलन फिर्ता लिएर शान्तिपूर्ण आन्दोलन गर्ने, आन्दोलनको क्रममा भएका घाइतेको सरकारले निःशुल्क उपचार गर्ने र आन्दोलनमाथि लगाइएको मुद्दा सरकारले फिर्ता लिने उल्लेख गरिएको सरकारी वार्ता समितिका संयोजकसमेत रहेका भौतिक पूर्वाधार विकासमन्त्री कमलप्रसाद जबेगुले जानकारी दिए ।

यता, पहिचान पक्षधर वार्ता समितिका संयोजक डगेन्द्रसिङ थेगिमले आन्दोलनका क्रममा ज्यान गुमाएका र घाइते भएकालाई सरकारले उचित क्षतिपूर्ति दिने र त्यस क्रममा लगाइएका झुटा मुद्दा सरकारले फिर्ता लिने विषयमा पनि छलफल गरिएको बताए ।

सहमतिपत्रमा दुई पक्षको आगामीमा वार्ता १० फागुनभित्र सम्पन्न गरिसक्ने उल्लेख गरिएको छ ।

कोशी प्रदेशसभाले १७ फागुन २०७९ मा प्रदेशको नाम कोशी राखेपछि त्यसको विरुद्धमा पहिचानवादी आन्दोलनरत छन् ।

उनीहरूले पहिचानसहित पुनः नामकरण गरिनुपर्ने माग राख्दै आएका छन् ।