काठमाडौं, हिजो उड्दाउड्दै आकाशकै इन्जिनमा आगो देखिएको श्री एयरलाइन्सको जहाजले इन्जिन सुरक्षा जाँच नसकुन्जेलसम्म उडान भर्न नपाउने भएको छ।
नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान) का अनुसार जहाजको इन्जिनका सुरक्षा जाँच र उड्न योग्य भए÷नभएको परीक्षण गरेपछि मात्रै श्री एयरलाइन्सलाई उडानका लागि अनुमति दिइने छ।
हिजो उड्दाउड्दै आकाशकै आगो देखिएका विमान र अरू विमान समेत परीक्षण गर्नुपर्ने छ। श्री एयरलाइन्सका साना–ठूला गरी ८ वटा जहाज छन्।
केही दिनभित्र जहाजका इन्जिनको सुरक्षा जाँच सकिने बताइएको छ। त्यसपछि जहाज उड्न योग्य भएमा श्री एयरलाइन्सका जहाजले उडान भर्ने अनुमति पाउनेछ।
बिहीबार काठमाडौंबाट भैरहवा उडान भरेको जहाजको दुईमध्ये एक इन्जिनमा आगो लागेको संकेत मिलेपछि जहाजलाई पुनः त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमै फर्काएर सुरक्षित अवतरण गरिएको थियो।
प्राधिकरणले अनुमति नदिँदासम्म आजदेखि श्री एयरलाइन्सका जहाजले कुनै पनि उडान गर्न पाउने छैनन्।