काठमाडौं, बिहीबार देशभरका निजी डेरीहरुको संस्थाले दूधको मूल्य लिटरमै १४ रुपैयाँले बढाएका छन् ।
यस्तै पनिरको मूल्य किलोमा १४० रुपैयाँ र घिउको मूल्य लिटरमा २०० रुपैयाँले बढाएका छन् । दहीको मूल्य लिटरमा २५ रुपैयाँले बढेको डेरी उद्योग संघले जनाएको छ ।
एक साताअघि सरकारले किसानले पाउने दूधको मूल्य लिटरमा ९ रुपैयाँले वृद्धि गरेपछि निजी डेरीहरुले दुग्धजन्य पदार्थको मूल्यमा मनोमानी ढंगले वृद्धि गरेका हुन् ।
नयाँ मूल्य सूचीअनुसार प्रशोधित दूधको उपभोक्ता मूल्य प्रतिलिटर १०० रुपैयाँ पुगेको छ । यस्तै दही प्रति लिटर १९०, पनिर प्रतिकिलो ८४० र घिउ प्रतिकिलो १३ सय रुपैयाँ पुगेको छ ।
दूधको उपभोक्ता मूल्य शुक्रबारदेखि देशभर लागू हुने र अन्य दुग्ध पदार्थको मूल्य भने आइतबारदेखि कार्यान्वयनमा आउने डेरी उद्योग संघले जनाएको छ ।