काठमाडौं, नेपाली कांग्रेसका नेता एवं सांसद चन्द्र भण्डारी ग्यास सिलिन्डर बिस्फोट हुँदा गम्भीर घाइते भएका छन् ।
बुधबार राति ग्यास विष्फोटमा परेर ८६ वर्षिया आमा हरिकलासँगै नेता भण्डारी घाइते भएका हुन् ।
दुवैको गम्भीर अवस्थामा उपचार भइरहेको कांग्रेस महामन्त्री विश्वप्रकाश शर्माले जानकारी दिएका छन् ।
दुवैको अहिले कीर्तिपुरस्थित बर्न अस्पतालमा उपचार भइरहेको छ ।
राति अस्पताल पुगेका महामन्त्री शर्माले फर्केपछि सामाजिक संजालमा यस्तो लेखेका छन्, ‘ग्यास सिलिन्डर बिस्फोटबाट गम्भीर घाइते नेपाली कांग्रेसका नेता, सांसद चन्द्र भण्डारी र उहाँको ८६ बर्षिया माताको किर्तिपुरको अस्पतालमा उपचार भइरहेकोे छ ।
अस्पतालबाट भर्खर फर्किएको छु । ममतामयी माता र आदरणीय चन्द्रझदाइ दुवैको शीघ्र स्वास्थलाभकालागि भगवानसँग प्रार्थना गर्दछु ।’
उपचारमा संलग्न चिकित्सकका अनुसार नेता चन्द्र भण्डारीको शरिरको करिब २५ प्रतिशत र उहाँकी आमाको ७० प्रतिशत शरिरको भागमा असर पुगेको छ ।
भण्डारीको निवास बुद्धनगर काठमाडौमा ग्यास सिलिन्डर बिस्फोट भएको बताइएको छ । भण्डारी गुल्मी क्षेत्र नम्बर १ बाट निर्वाचित संघीय सांसद हुन् ।