बिर्तामोड, माओवादीका पूर्व सदस्य तथा मेडिकल कलेज सञ्चालक दुर्गा प्रसाईंले पूर्वराजा ज्ञानेन्द्र शाह र उनका छोरा पारस शाहलाई एउटै मञ्चमा राखेर नयाँ अभियान सुरु गरेका छन् ।
प्रसाईं तिनै हुन् जसले माओवादी अध्यक्ष पुष्पकमल दाहाल र एमाले अध्यक्ष केपी ओलीलाई ‘मार्सी चामलको भात’ खुवाएपछि चर्चामा आएका थिए । जनयुद्धताका माओवादीमा सक्रिय प्रसाईं हाल एमालेको सदस्य छन् ।
प्रसाईंले पूर्वराजा ज्ञानेन्द्र र पारस समेत राजपरिवारका सदस्यलाई एउटै मञ्चमा राखेर आफ्नो महत्त्वाकांक्षी अभियान सुरू गरेका हुन् ।
मेची पुलमा पूर्वराजा ज्ञानेन्द्र शाहले सोमवार दीप बालेर अभियानको सुरुवात गरेका थिए ।
उद्घाटन कार्यक्रममा पूर्व राजा ज्ञानेन्द्र,उनका छोरा पारस शाह र प्रेरणा शाह पनि प्रसाईंसँगै देखिएका थिए ।
प्रसाईले राजनीतिक दलका नेतालाई पनि निम्ता दिएको तर कोही पनि नआएको बुझिएको छ ।
प्रसाईंले संघीयता खारेजी, वैदिक सनातन राज्य घोषणा तथा व्यवसायिक वातावरणको माग गर्दै ‘नागरिक बचाऊ अभियान’ सुरू गरेका हुन् ।